लुम्बिनी

वागेश्वरी बहुमुखी क्याम्पसलाई आङ्गिक मान्यता

राँझा । बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा रुपान्तरण भएको छ । विसं २०७५ भदौ २२ गते नेपाल सरकार मन्त्रिपरिषद्ले बागेश्वरी क्याम्पसलगायत १० वटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरे बमोजिम शुक्रबारदेखि बागेश्वरी बहुमुखी क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयको सातौं आङ्गिक क्याम्पसको रुपमा मान्यता पाएको हो ।

विसं २०४८ मा स्थापना भएको यो क्याम्पस हालसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहँदै आएको  थियो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइरालाले अबदेखि क्याम्पसको सम्पूर्ण जिम्मेवारी मध्यपश्चिम विश्वविद्यालयले लिए पनि शैक्षिक गुणस्तर कायम गर्न स्थानीय सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।

क्याम्पसलाई यस क्षेत्रकै उत्कृष्ट क्याम्पसको रुपमा स्तरोन्नति गराउन आवश्यक रहेको भन्दै उहाँले आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्ने प्राध्यापक र कर्मचारी सजायको भागिदार हुनुपर्ने चेतावनी दिए । ‘कोही पनि आफ्नो जिम्मेवारीबाट पञ्छिन मिल्दैन उपकुलपति कोइरालाले भने, “क्याम्पससँग सम्बन्धित सबै व्यक्ति थप जिम्मेवार हुनुपर्ने समय आएको छ ।” विभिन्न सङ्गठनका नाममा शैक्षिक संस्थामा राजनीति नगर्न समेत कोइरालाले आग्रह गनुभयो ।

वागेश्वरी बहुमुखी क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएसँगै बागेश्वरी बहुमुखी क्याम्पसप्रति आफू थप जिम्मेवार भएको बताए । उनले क्याम्पसलाई प्राविधि शिक्षालयको हबका रुपमा विकास गराउने योजना रहेको बताउँदै त्यसका लागि क्याम्पसमा थप सङ्कायका विषयमा पठनपाठन शुरु गरिनुपर्ने उल्लेख गरे ।