राजनीति

अब विकास तीव्र गतिमा हुन्छ सबै ढुक्क हुनुहोस्- प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनमा एशियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले आधार वर्ष मानेर काम गरेको र यस वर्ष तीव्र विकास गर्ने वर्ष भएको बताए। प्रधानमन्त्री ओलीले आधार वर्षमा संरचना र कानून निर्माणमा समय खर्च गर्दा पनि नेपालमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुनु निकै उपलब्धि हो भन्दै अब विकास तीव्र गतिमा हुन्छ भन्नेमा सबैलाई ढुक्क हुन आग्रह गरे।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका रुपमा दर्ता नभएका समूहलाई राजनीतिक दल भन्न नमिल्ने बताउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको समूहले गरिरहेका अराजक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट गरे । अदालत र सरकार अलग अलग विषय भएकाले सञ्चारकर्मीलाई सोहीअनुसार बुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीले सरकार र अदालतबीच झगडा लगाउने समाचार सम्प्रेषण गर्न नहुने बताए ।

सङ्घीय सरकार र प्रदेश सरकारबीचको सम्बन्ध बिगार्ने काम पनि सञ्चारकर्मीबाट हुनुहुँदैन भन्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई औचित्यका आधारमा जिम्मेवारी दिने तर भागबण्डाका पक्षमा सरकार नरहेको प्रष्ट पारे । उनले अन्तर विरोध र द्वन्द्व बढाउने किसिमको समाचार सम्प्रेषण गर्नु राम्रो होइन भन्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मी सकारात्मक हुनुपर्छ भने ।