अन्तर्राष्ट्रिय

उज्बेकिस्तानको बाह्य ऋण १७ अर्ब डलर

तास्कन्द । उज्बेकिस्तानको कूल बाह्य ऋण अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ९.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ३० करोड डलर पुगेको छ ।

उज्बेकिस्तानको केन्द्रीय बैंकले अगामी वर्ष पनि सार्वजनिक क्षेत्रमा विदेशी ऋण अझै बढ्ने जनाएको छ । निजी क्षेत्रमा करिब ७ अर्ब २० करोड डलर तथा राज्य सञ्चालित विभिन्न योजनामा करिब १० अर्ब डलर ऋण प्रवाह भएको छ ।

निजी क्षेत्रमा प्रवाह भएको विदेशी ऋणका लागि भने सरकारी प्रत्याभूति दिइएको छैन । बैंकका अनुसार सरकारी क्षेत्रमा आएको ऋणका लागि भने सरकार वा सरकारको प्रत्याभूतिमा ऋण प्राप्त भएको छ ।

निजी क्षेत्रमा आएको ऋण मुख्यतः तेल, ग्यास र ऊर्जा क्षेत्रमा छ, जसमा ५ अर्ब ५० करोड डलर लगानी भएको छ । बैंकिङ क्षेत्रमा ९७ करोड ८२ लाख डलर ऋण लगानी भएको छ ।