प्रदेश 1

अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति

सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् ।

कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ ।

गाउँपालिकामा आगजनी हुनासाथ सदरमुकाम खाँदबारीमा काम विषेशले आएका त्यस गाउँपालिकाका अध्यक्ष पेम्बा भोटे हिजै सदरमुकामबाट आगजनीस्थलतर्फ लागेका छन्। यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

आजै घटनास्थलमा नेपाल सरकारको सम्बन्धित निकाय हेलिकप्टरमार्फत त्यस स्थानमा जाने प्रयास भइरहेको छ । मौसमको खराबीका कारण हालसम्म हेलिकप्टर जान सकेको छैन । हटियामा रहेको गाँउपालिकाको कार्यालय आगजनी भएपछि भोटखोलाबासीमा सन्त्रास छाएको छ । घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको समेत प्रजिअले जानकारी दिए।