राजनीति

समृद्धिको आधार र संरचना तयार भएको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन्। काठमाडौंमा आज रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताए ।

“समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,” उनले भने, “समृद्ध नेपाल, सुखी नेपालीको सबै आधार तयार भएको छ ।” समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताए । “त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न ग¥यौं, राष्ट्र एक ठाउमा रह्यो,” उनले भने,“सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।”

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे । “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचलाई अन्त्य गरेका छौं,” उनले भने, “अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।”

प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गरे । “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन,”उनले भने, “ हामीले आफ्नो समाज,इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुदैन ।”