गण्डकी प्रदेश

व्यवस्थीत भयो स्तनपान कक्ष, फेला पर्‍यो बेवारिसे शव, सडकमा फाल्न निषेध

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।

पछिल्लो समय लैङ्गिक विषयका मुद्दाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो ।

पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उेद्दश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाखको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको हो । कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाहरुका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरुको काम छिट्टै सम्पन्न हुन थालेको छ ।

सडकमा फोहर फाल्न निषेध

स्वच्छ सडक अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा सवारीसाधनमा पर्वत जिल्ला फोहर फाल्न निषेधित क्षेत्र लेखिएका स्टिकर टाँसिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कुश्मा नगरपालिका–६ शिवालय चोकमा मध्यपहाडी लोकमार्ग हुँदै सञ्चालन हुने र पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारीसाधनमा स्टिकर टाँस्न थालिएको हो ।

शनिबारदेखि औपचारिक रुपमै सफा सडक अभियानका बारेमा सरोकारवाला सबै पक्षलाई जानकारी गराइएको छ । प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले सबै जागरुक भएमा मात्र सफा सडक अभियान सफल बन्ने र सडक पनि सफा रहने बताए ।

बेवारिसे शव फेला

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै बडागाउँमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । बडागाउँस्थित कारागारभन्दा तलपट्टिको भीरमा शनिबार दिउँसो उक्त शव फेला परेको हो । शव पूर्णरूपमा सडेगलेको अवस्थामा रहेका कारण महिला वा पुरुष के हो ? त्यो शव कसको भन्ने बारेमा केही पनि खुल्न सकेको छैन ।

शवलाई परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।