अन्तर्राष्ट्रिय

अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम

पाल्मविच, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताएका छन् । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ ।  मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताएका छन् । विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गरेका छन् ।  यसपहिले शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने, “अर्को हप्ता मैले सीमा बन्द गराउँछु जस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुनेछैन ।”

अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ । त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गरे जसमा उनले लागुऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताए ।