अन्तर्राष्ट्रिय

तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते

गाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ ।

शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र दुई शिक्षकसहित अन्य १७ जना घाइते भएका छन्,” सरकारका प्रान्तीय प्रवक्ता अरेफ नुरीले बताए ।

अधिकारीका अनुसार मुल्लाह नोह बाबा विद्यालयमा कक्षा चलिरहेका समय तोप आक्रमण हुँदा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र अन्य १७ जना पनि सख्त घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा पु¥याइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भन्दै मृतक सङ्ख्या बढ्नसक्ने उनले बताए ।

सरकारी सुरक्षा फौज र तालिवान समूहबीच दोहोरो भिडन्त भइरहेका समय विद्यालयमा तोप आक्रमण भएको बताइएको छ । तोप कसले हानेको भन्नेबारे पुष्टि नभएको घटनास्थल वरपरका स्थानीयले बताएका छन् । शनिबारै अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेपछि गाज्नी शहर र वरपरका क्षेत्रमा सरकारी सेना र तालिवान लडाकूबीच भिडन्त भएको थियो । सेनाका अनुसार अहिले विद्रोही घटनास्थलबाट पछि हटिसकेको छ ।

सन् २०१८ मा द्वन्द्वग्रस्त अफगानिस्तानमा ९२७ बालबालिकासहित तीन हजार ८०४ सर्वसाधारणको मृत्यु भएको थियो भने सात हजार १०० व्यक्ति घाइते भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घ सहयोग नियोगले गत महिना सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।