लुम्बिनी

भारतीय पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प

राँझा । नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ ।

पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताए ।

ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरूपमा रोकिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अब भारतबाट पशु आयात गर्दा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यस्तै पशुजन्य वस्तु दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र आवश्यक पर्छ ।

“त्यस्तो प्रमाणपत्र दिने निकाय दिल्ली वा कोलकातामा रहेका कारण आयातकर्तालाई डकुमेन्ट जुटाउन कठिनाइ भएको छ”, कार्यालय प्रमुख श्रेष्ठले भने, “पहुँच नभएका कारण आयातकर्ताले आवश्यक प्रमाणपत्र ल्याउन नसक्दा कुनै पनि पशु र पशुजन्य वस्तु आयात हुननसकेको हो ।”

नेपालगञ्ज नाकामा फागुन २६ गतेबाट कुनै पनि पशु तथा पशुजन्य वस्तुको आयात भएको छैन । पशु तथा पशुजन्य दाना पशु क्वारेन्टाइनको स्वीकृतिमा भन्सार तिरेर मात्र नेपाल ल्याउन पाइन्छ ।
उनका अनुसार, यसअघि देशभरका पशु क्वारेन्टाइनले भारतमा पशुजन्य वस्तु खरीद गरेको बिल र भारतीय भन्सारको प्रमाणपत्र देखाएकै भरमा नेपाल आयात गर्न पाइन्थ्यो । तर, यसरी हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य वस्तु अस्वस्थकर भएको पाइएपछि सरकारले ऐन कार्यान्वयनमा कडाइ गरेको हो ।

दानालगायतका वस्तु आयातका लागि पहिले पशु सेवा विभागको कागज भए पुग्ने भए पनि अब सेनेटरी प्रमाणपत्र अनिवार्य भएको छ । ऐन कार्यान्वयनमा कडाइ भएको थाहा नपाएका व्यवसायीले नेपाल भित्र्याएका दानालगायतका पशुजन्य वस्तु नेपालगञ्ज भन्सारमा थन्किएको छ ।

स्वास्थ्य प्रमाणपत्र ल्याएपछि मात्र आयातका लागि अनुमति दिने तयारीमा पशु क्वारेन्टाइन कार्यालय रहेको छ । पशु क्वारेन्टाइन जाँच केन्द्र नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको फागुन २६ गतेसम्म ६९ हजार २२७ खसी–बोका भित्रिएको थियो भने एक ४७५ मेट्रिकटनभन्दा बढी दाना आयात भएको थियो ।

मुख्य नाकाबाट पशु तथा पशुजन्य वस्तुको आयातमा कडाइ भएपछि भन्सार छलेर अवैधरूपमा भित्रिन थालेको छ । पशुजन्य वस्तु व्यवसायीले ग्रामीण नाका प्रयोग गरी भारतीय खसी–बोका र पशुजन्य वस्तु आयात गर्न थालेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

दुईहप्ता अघिमात्रै अवैधरूपमा नेपाल भित्र्याएको ८० खसी–बोका प्रहरीले पक्राउ गरेको थियो । नेपालगञ्ज प्रवेश हुने ग्रामीण नाकामा समेत निगरानी बढाएको प्रहरी निरीक्षक डाँगीले बताए ।