प्रदेश 1

मेचीनगरले पुस्तकालयको दायित्व व्यहोर्ने

भद्रपुर । झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरुको सञ्चालन दायित्व व्यहोर्ने भएको छ ।

मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फँसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको सम्पत्तिको रुपमा पुस्तकालयहरुलाई संरक्षण र सञ्चालन गरिने बताए । नगरका प्रमुख, उपप्रमुख र १५ वटै वडाका अध्यक्षहरुको उपस्थितिमा पुस्तकालयको सञ्चालन कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

रु। ५ करोडको अचल सम्पत्ति भएको क्रिफला पुस्तकालयमा करीव ४० हजार पुस्तकहरु राखिएका छन् । तर आर्थिक कठिनाई र प्राविधिक दक्षताको अभावमा पुस्तकालयलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकिएको पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी बताउँछन् । उनले भिक्षा सङ्कलन गरेर स्थापना गरी अहिलेको अवस्थामा ल्याएको पुस्तकालयको अभिभावकत्व अब स्थानीय सरकारले लिनु पर्ने र पुस्तकालयमा तत्काल लाइब्रेरी विज्ञान अध्ययन गरेको कर्मचारी र पुस्तकको वैज्ञानिक वर्गीकरण आवश्यक भएको बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले ई–लाइब्रेरी विकल्प भए पनि प्रविधिको विकाससँगै आएको ई–लाइब्रेरीले पुस्तकालयको महत्व र आवश्यकता कम नहुने धारणा व्यक्त गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले खाली खुट्टा हिँडेर र अन्न समेत नखाई त्रिफला पुस्तकालयमा रु पाँच करोडको सम्पत्ति जोडिदिएर अध्यक्ष फलाहारीले अभूतपूर्व योगदान पुर्याउनु भएको चर्चा गर्दै अब यसको विकास गर्ने र निरन्तरता दिने दायित्व स्थानीय सरकारको भएको हुँदा नगरका जनप्रतिनिधिहरुले कत्र्तब्यबोध गर्नु पर्ने बताए ।

अन्तरक्रिया कार्यक्रमबाट नगरपालिकाले त्रिफला पुस्तकालयका लागि विद्यालयलाई सरह बजेट छुट्याउने र पुस्तकालयलाई नयाँ ढङ्गबाट सञ्चालन गर्न विधानमा परिमार्जन गर्ने सहमति भएको छ ।