पर्यटन/संस्कृति

प्रदेश सरकारले संयोजनगर्ने भयो चतराधामका चर्चित अर्धकुम्भ मेला

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा चैत २३ देखि शुरु हुन लागेको एकमहीने अर्धकुम्भ मेलाको संयोजन १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ ।

मेला आयोजक र प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको छलफलले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई अर्थकुम्भ मेलाको संयोजनको जिम्मेवारी दिइएको छ ।

शुक्रबार चतरामा भएको कुम्भमेला तयारीसम्बन्धी सर्वपक्षीय छलफलमा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कुम्भमेला सफल बनाउन प्रदेश सरकारले आर्थिक, भौतिकदेखि सम्पूर्ण सहयोग गर्ने बताए ।

उनले कुम्भको सफलताका लागि सबै स्थानीय तह, निजी क्षेत्र र सरकारी क्षेत्रलाई परिचालन गरिनेसमेत जानकारी दिए । चैत २० सम्ममा चतरा पुग्ने चारैतिरका सडक मर्मत गरिसक्ने र विभिन्न नाकादेखि नै प्रवेशद्वार राखिने, यातायात, स्वास्थ्य, खानेपानीलगायतको सम्पूर्ण पूर्वाधार तयारका लागि सबैलाई निर्देशन दिएको उनले जानकारी दिए ।

भारतमा चार वटा कुम्भ मेला लाग्दै आएको छ । नेपालमा अर्का कुम्भ मेला गरी विश्वमा पाँच वटा कुम्भ मेला हुने कुरा स्थापित गर्न चतरामा बस्दै आएका कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले ठूलो योगदान दिएका छन् । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले मेलाका लागि आवश्यक खर्च तथा तयारीका बारेमा जानकारी गराएका थिए ।

वैशाख २४ सम्म लाग्ने अर्धकुम्भमा चैत २६, वैशाख ६, २१ र २४ गते हुने स्नानमा देशविदेशका एक करोड हिन्दू धर्मावलम्बी सहभागी हुने आयोजकले जनाएको छ । चतरामा २०५९ सालमा पहिलोपटक कुम्भ मेला लागेको थियो । त्यसपछि २०६३ मा अर्धकुम्भ र २०७० मा पूर्णकुम्भ लागेको थियो । प्रत्येक १२ वर्षमा कुम्भ र छ वर्षमा अर्धकुम्भ मेला लाग्ने गरेको छ ।

भारतको नासिक, इलाहावाद, उज्जैन र हरिद्वार गरी चार स्थानमा कुम्भ मेला लाग्ने गर्छ ।