आर्थिक

मकै व्यावशायीहरु भन्छन्ः हरियो र पोलेको मकै बेचेर मासिक ८० हजार कमाउछौं

कृष्ण आचार्य /भरतपुर । गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले सङ्घर्षको पापड बेल्नसम्म बेल्नुभएको छ । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उहाँको मनमा ताजै छ । दिनभरी काम गरेर पनि घरखर्चसम्म चलाउन धौधौ हुने उहाँलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ ।

पसिनाको कमाइ खानुको मज्जा उहाँलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उहाँले पूर्वपश्चिम राजमार्गको गैँडाकोटमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो मकै बेच्नुहुन्छ । नवलपुरको गैँडाकोट–८ थुम्सी नजिकै हरियो र पोलेर मकैं बेच्ने उहाँजस्ता ८० स्थानीयवासी छन् । एकै जनाले मकै बेचर मासिक रु ३५ हजारदेखि ४० हजारसम्म कमाउने गरेका छन् ।

सापकोटाले विगत पाँच वर्षदेखि सोही ठाउँमा बसेर मकैं बेच्दै आउनुभएको छ । पहिला आफू मात्रै आएर मकै बेच्दै आउनुभएका मनहरिले पछिल्लो समय श्रीमती कमला सापकोटालाई पनिसँगै लिएर मकै बेच्ने थाल्नुभएको छ । दुबै मिलेर व्यापार गर्दा मासिक रु ८० हजारसम्म कमाइ हुनेगरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा उहाँ जस्तै मकै बेच्ने छ दम्पती छन् । उहाँहरुको दैनिकी पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधानमा आउने यात्रुलाई मकै बेच्नु हो । प्लास्टिकमा पोको पारेको मकै बेच्न उनीहरु तछाडमछाड गरेर लाग्ने गरेका छन् ।

करीब पाँच सय मिटर क्षेत्रमा यस्तो दृश्य देख्न सकिन्छ । एक जनाले दिनमा १५० देखी २०० घोगासम्म मकैं बेच्ने गरेको मनहरिले सुनाउनुभयो । पोलेको मकै प्रतिवटा रु २० मा बेच्ने गरिन्छ । दश घोगा मकैलाई रु १०० मा बेच्ने गरिएको छ । उहाँहरुले आफ्नै खेतबारीमा दुई सिजन मकै लगाउने गर्नुभएको छ । आफूसँग मकै नभएको बेलामा अन्यक्षेत्रबाट खरीद गरेर भए पनि मकै बेच्ने गरेको मनहरिले सुनाउनुभयो ।
“बाहिरबाट मकैं खरीद गरेर बेच्दा नाफा कम हुन्छ, तर आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ”, मनहरिले भन्नुभयो, “मकैं बेचेर गरेको आम्दानीले घरपरिवार चलाउन सहज भएको छ ।”

गैँडाकोट–७ कै ईन्द्रराज कँडेलले दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म फाइदा हुने गरेको बताउनुभयो । आफ्नो तीन कठ्ठा जमीनमा लगाएको मकैले सोचेभन्दा धेरै फाइदा दिइएको उहाँले बताउनुभयो । छ वर्षअघि लागेको यस पेसाबाट निकै सन्तुष्टी मिलेको उहाँ बताउनुहुन्छ । “यात्रु आफै गाडी रोकेर मकै किन्छन्”, उहाँले भन्नुभयो’ “यसले गर्दा पनि पेशाप्रति थप चासो थपिएको छ ।”

गैँडाकोट–७ कै देवप्रसाद सापकोटाले पनि श्रीमतीसँगै दैनिक मकै बेच्न राजमार्गमा आउने गर्नुभएको छ । उहाँ दुबै जनाले दिनमा ५०० घोगा मकै बेच्ने गरेको सुनाउनुभयो । दुबै जनाले मकै बेच्दा मासिक रु ८० हजारसम्म फाइदा हुने गरेको उहाँले बताउनुभयो । शुरुवातमा चार÷पाँच जना भएर मकै बेच्ने गरेकामा अहिले दर्जनौा भइसकेका छन् ।

व्यापार राम्रो भएकाले सङ्ख्या बढेको उहाँले बताउनुभयो । सङ्ख्या बढे पनि व्यापारमा कुनै कमी नआएको सापकोटाले बताउनुभयो । नगरपालिकाले राजमार्गमा बसेर मकै बेच्दा दुर्घटना हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । नगरपालिकाले मकै बेच्ने ठाउँको सरसफाइमा ध्यान दिन र तछाडमछाड नगरी व्यवस्थित रुपमा व्यापार गर्न आग्रह गरको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो’, “आफ्नै ठाउँमा आत्मनिर्भर बन्नेगरी व्यापार गर्नु राम्रो हो, तर व्यवस्थित हुनुपर्छ ।”