अन्तर्राष्ट्रिय

भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवार

गान्धीनगर, गुजरात । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिएका छन् । भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अध्यक्ष शाह अहिले राज्यसभा सदस्य हुन् । उनले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिएका हुन् । शाहले उम्मेदवारी दिएको गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ट नेता लालकृष्ण आडवाणीले निर्वाचन जितेका थिए ।

गृहमन्त्री राजनाथ सिंह, पञ्जाबका पूर्व मुख्यमन्त्री प्रकाशसिंह बादल, यातायात मन्त्री नितिन गड्करी, शिवसेना प्रमुख उद्धव ठाकरे, लोक जनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र भाजपाका राष्ट्रिय महासचिव राम लाल लगायतको उपस्थितिमा उनले उम्मेदवारी दर्ता गराउनु भएको भाजपाका सचिव महेन्द्र पाण्डेले जानकारी दिए ।

उम्मेदवारी दर्ता गर्नुअघि उनले अहमदावादको नारायणपुरमा आयोजित वृहत चुनावी ¥यालीलाई सम्बोधन गरेका थिए । भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ ।