गण्डकी प्रदेश

खानेपानी योजना सञ्चालनका लागि झण्डै साढे पाँच करोड खर्च

बलेवा । जिल्लाका दशवटै स्थानीय तहमा खानेपानी योजना सञ्चालनका लागि चालू आर्थिक वर्षमा झण्डै रु साढे पाँच करोड खर्च हुने भएको छ ।

यो रकम केन्द्र सरकार र स्थानीय तहले सञ्चालन गर्ने योजनाबाहेकको रकम हो । गण्डकी प्रदेश सरकार मातहत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले ६३ योजनामा रु पाँच करोड ४० लाख आठ हजार खर्च गर्ने भएको हो ।

साविकको डिभिजन कर्यालयबाट हस्तान्तरण भई आएका योजनामा नेपाल सरकारले व्यवस्था गरेको बजेट कार्यान्वयन गर्न थालिएको डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले बताए । साविकको डिभिजन कार्यालयले सञ्चालन गरिरहेका योजनामध्ये केही ठूला योजना केन्द्र सरकार मातहतमा राखेको र हस्तान्तरण भएका योजनाको काम शुरु गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाभर क्रमागत रुपमा सञ्चालनमा रहेका योजना र केही नयाँ योजनाको कामसमेत शुरु भएको छ । डिभिजन कार्यालयले यो वर्ष नयाँ शुरु गर्न लागेका चार योजनामध्ये कुँडुले लिफ्ट खानेपानी आयोजनाका लागि रु १५ लाख ९० हजार, बुर्तिबाङ पम्पिङ खानेपानी आयोजनाका लागि रु छ लाख ३० हजार, झुल्केपानी खानेपानी आयोजनाका लागि रु तीन लाख ५० हजार र घठाघर भेल्कुदोभान खानेपानी आयोजनाका लागि रु तीन लाख ९४ हजार मन्त्रालयले बजेटको व्यवस्था गरेको छ । चारवटै योजनाको प्रारम्भिक चरणको काम शुरु भएको कार्यालयले जनाएको छ । क्रमागत रुपमा सञ्चालनमा रहेका सबै खानेपानी आयोजनामा उपभोक्ता समितिमार्फत् शुरु गरिएको कार्यालयका सूचना अधिकारी विक्रमप्रसाद साहले जानकारी दिए ।

क्रमागत रुपमा सञ्चालनमा रहेका अन्तर स्थानीय तह खानेपानी आयोजनालाई पनि कार्यालयले निरन्तरता दिने भएको छ । कुनै पनि योजनाका लागि ठूलो रकम विनियोजन नभएकाले यो वर्ष पनि क्रमागत योजनामा पाइप खरीददेखि सामान्य ट्याङ्की निर्माणका काम मात्रै हुनेछन् । कार्यालयद्वारा सञ्चालनमा रहेका सबै योजना सम्पन्न भएमा बागलुङका ७० प्रतिशतभन्दा धेरै उपभोक्ताका घरमा खानेपानी पुग्ने छ । कार्यालयले निर्माणको काम उपभोक्ता समितिमार्फत र खरीदको काम बोलपत्रमार्फत् गर्ने भएकाले योजनालाई गति दिन समस्या हुने गरेको उपभोक्ताको गुनासो छ ।