पर्यटन/संस्कृति

चन्द्रागिरिलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने

काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थान चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरि विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘हाइकिङ’ उद्घाटन कार्यक्रममा प्रदेश–३ का पर्यटनमन्त्री अरुण नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न पर्यटन क्षेत्रको विकास हुनु आवश्यक छ भने ।

“मुलुकको समृद्धिको आधार पर्यटन हो, पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार विभिन्न कार्ययोजना बनाएर अगाडि बढिरहेको छ”, उनले जोड दिए, “चन्द्रागिरि नगरपालिका प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।”

प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण समिति सभापति रमा आलेमगरले पर्यटनको विकाससँगै स्थानीय क्षेत्रमा पनि रोजगारी सिर्जना हुँदै जाने भएकाले यसको विकासका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । उनले पर्यटन विकासले चन्द्रागिरि क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने उल्लेख गने ।

चन्द्रागिरि क्षेत्रका २०० व्यक्ति हाइकिङमा सहभागी भएको चन्द्रागिरि विकास मञ्चका सदस्य श्रीहरि थापाले जानकारी दिए । चन्द्रागिरिको पर्यटकीय क्षेत्र दहचोक–इन्द्रदह–काजी कालु पाँडे समाधिस्थल–झाँगाझिटी–बाँडभञ्ज्याङको मसिनेसम्म हाइकिङ गरिएको थियो ।

आजै मन्त्री नेपालले चन्द्रागिरिमा रहेको त्रिभुवन पार्क अवलोकन गर्दै उक्त क्षेत्रलाई व्यवस्थित बनाएर वनभोजनका लागि प्रमुख गन्तव्यस्थलको रुपमा विकास गर्न निर्देशन समेत दिए । केही महीना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका काजी कालु पाण्डेको शालिक तथा समाधिस्थल पनि उनले निरीक्षण गरे ।