लुम्बिनी

आठ महीनामा ३७ को मृत्यु

राँझा । बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् ।

पछिल्ला आठ महीनाको अवधिमा बाँकेमा भएका ६० सवारीसाधन दुर्घटनामा परी ३७ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ । यो वर्ष सवारी दुर्घटनामा परी ७९ गम्भीर घाइते भएका छन् । अझै केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो अवधिमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेका १८ हजार ९५० सवारीसाधनका चालकलाई कारवाहीसमेत गरेको छ ।

बाँकेमा २० असोज २०७५ मा राप्ती सोनारी गाउँपालिकाको कुसुम नजिक ट्रक र हाइस एकापसमा ठोक्किँदा पाँचको मृत्यु भएको थियो । धेरैजसो सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको सूचना अधिकृत पौडेलले बताए । यस वर्ष बाँकेमा नयाँ तरिकाका सवारी दुर्घटना भएका छन्’, प्रहरी नायब निरीक्षक पौडेलले भने, “खेत जोत्न गएको ट्र्याक्टरबाट च्यापिएर पनि एकको मृत्यु भएको छ ।”

दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताए । “हामी सवारीसाधन चलाएको अवस्थामा सडकमा सवारीसाधन रोकेर चालकलाई सचेतना दिएका छौँ”, प्रहरी निरीक्षक रोकायले भने, “इन्टरनेटको सहायतामा एप्समार्फत पनि चालकका गतिविधि नियालिरहेका छौँ ।”