कृषि

अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीका किसान अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका सबै वडामा अहिले अन्नबालीको तुलनामा फलफूल र तरकारी खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, राखु, मरेक, बास्कुना, मालिका गाउँपालिकाको बिम, ओखरबोट, देवीस्थान, मङ्गला गाउँपालिकाको अर्मन, कुहूँ, बरङ्जा, रघुगङ्गाको भगवती, बेगखोला, पिप्ले, अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ र हिस्तान तथा धवलागिरि गाउँपालिकाको ताकम र मुदीका किसानले फलफूल खेती विस्तार गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले १० मुरी धान फल्ने तीन रोपनी जग्गामा २०० बोट केराका नयाँ बिरुवा लगाएका छन् । त्यसैगरी सोही गाउँका भक्तबहादुर कुँवरले खेत, बारी र पाखो जग्गा गरी चार रोपनी क्षेत्रफलमा केरा र मेवाका बिरुवा लगाएको बताए ।

अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले फलफूलतिर आकर्षित भएको किसानको भनाइ छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकले गत वर्षसम्म मकै र कोदो लगाउँदै आएको बारीमा सात हजार नयाँ सुन्तलाका बिरुवा रोपेका स्थानीय कृषक धनसरा पुनले जानकारी दिए । उनका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमीनलाई उपयोगमा ल्याउन गत वर्षदेखि सुन्तला र केरा खेती विस्तार गरिएको हो ।

फलफूल खेतीलाई अन्नबालीको जस्तो स्याहारसुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यक नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छाडेर फलफूल खेतीतर्फ लागेको किसानले बताएका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयले गत आर्थिक वर्ष जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा २५ हजार सुन्तलाका बिरुवा वितरण गरेको थियो । गत वर्ष मात्रै ६० हेक्टर थप क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । अधिकृत थापाका अनुसार आर्थिक वर्ष २०७३/७४ मा म्याग्दीमा रु सात करोड ५० लाख मूल्य बराबरको दुई हजार २६५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

९० हजार म्याग्देली सञ्चारको पहुँचमा

सूचना र सञ्चारको क्षेत्रमा हिमाली जिल्ला म्याग्दीले फड्को मारेको छ । केही वर्ष अघिसम्म देशका विभिन्न स्थान वा विदेशमा रहेका आफन्तलाई एक कल फोन गर्नका लागि तीन दिनको समय लगाएर सदरमुकाम बेनी झर्ने गरेका म्याग्देली अब भने हातहातमै बोकेको मोबाइलबाट देशविदेशमा रहेका आफन्तसँग कुरा गर्नुका साथै इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको पहुँचमा छन् ।

नेपाल टेलिकम म्याग्दीका अनुसार जिल्लाका ९० हजार जनता सञ्चारको पहुँचमा छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा करीब ८० प्रतिशत नागरिक सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिए ।

शाहले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ७० हजार ४३२, स्काइ फोनका १५ हजार २६३ रहेका छन् । यसैगरी पोष्टपेड मोबाइल बोक्ने एक हजार ७१४, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५१५ ग्राहक छन् । जिल्लाका विभिन्न ठाउँमा गरी कूल ३२ बिटिएस टावर सञ्चालनमा छन् । सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पस चोक, बेनी नगरपालिकाको ५ र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएको शाहले बताए ।

यसैगरी निजी क्षेत्रको एनसेलको पनि म्याग्दीमा राम्रै पहुँच रहेको छ । म्याग्दीको माथिल्लो क्षेत्रका अधिकांश जनताले एनसेलको सीम प्रयोग गर्ने गरेका छन् । त्यस्तै म्याग्दीका ५५ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् भने रेडियो, पत्रपत्रिका र टेलिभिजनमा पनि पहुँच बढ्दै गएको नेपाल पत्रकार महासङ्घ म्याग्दीले जनाएको छ ।