लुम्बिनी

अङ्ग्रेज फौजलाई हराएको जितगढी किल्ला व्यवस्थित बन्दै

रुपन्देही । दुई सय वर्षअघि नेपालले अङ्ग्रेज फौजलाई हराएको बुटवलको जितगढी किल्लाको प्रचारप्रसार र संवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाले काम शुरु गरेको छ ।

बुटवलको शान, मान र पहिचानका रुपमा रहेको जितगढी किल्लाको संरक्षण र व्यवस्थापनका लागि उपमहानगरपालिकाले योजनावद्ध ढङ्गले कामको थालनी गरेको हो । जितगढीलाई धरोहरका रुपमा विकास गर्ने गरी काम शुरु भएको उपमहानगरपालिकाले जनाएको छ ।

लामो समयसम्म पनि प्रचारप्रसारको अभावमा ओझेलमा रहेपछि अहिले उपमहानगरपालिकाले यस किल्लाको विकास र संवद्र्धनमा चासो दिएको हो । जितगढी किल्ला नजिकै रहेका सरकारी संरचना हटाएर सम्पदास्थललाई खुला र व्यवस्थित बनाउने काम शुरु भएको वडा नं १ का अध्यक्ष महेन्द्र लिगलले बताए ।

सो किल्लालाई विशेष गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि काम थालिएको उपमहानगर प्रमुख शिवराज सुवेदी बताउँछन् । “ जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिनेछ, लडाइँमा अङ्ग्रेजलाई पराजित गरी भाग्न विवश तुलाउने तत्कालीन नेपाली फौजका वीरयोद्धा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक राख्ने तयारी भइरहेको छ”, नगरप्रमुख सुवेदी भन्छन् ।

आगामी वैशाख ७ गते विजयोत्सव दिवसका अवसरमा सो किल्लामा शालिक अनावरण गर्ने र ठूलो झण्डा फहराउने कार्यक्रम छ । जितगढीको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, संवद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्षमा रु ५० लाख र यसपटक रु एक करोड बजेट विनियोजन गरी गुरुयोजना निर्माणको काम भइरहेको छ ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी विसं १८७२ वैशाख ७ गते यस किल्लाबाट अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । यो लडाइँमा अङ्ग्रेज सेनाको गोली लागेर घाइते भएकी नेपाली महिलालाई आफूले पानी खुवाउन खोज्दा दुश्मनको हातले खुवाएको पानी खान इन्कार गरेको घटना ब्रिटिस सेनाको नेतृत्व गरेका तत्कालीन मेजर जनरल उडले लेखेको इतिहासमा पढ्न पाइन्छ ।

यसै लडाइँका बखत तराईको बाटो हिँडेर आएका अङ्ग्रेज फौजका कमाण्डरले अगाडि के छ भनेर आफ्ना सिपाहीलाई सोधेको र सिपाहीले ‘देयर इज नो थिङ बट वाल ९चुरे पहाड०’ भनेका कारण बुटवाल हुँदै यस ठाउँको नाम बुटवल रहेको कथनसमेत पाइन्छ ।

बुटवलको तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै उक्त किल्ला छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेरे अङ्ग्रेज फौजलाई हराएकाले जितगढी भनिएको स्थानीयवासी बताउँछन् । पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढीको पूर्वपश्चिम लम्बाइ २०५ फिट छ भने चौडाइ करीब ५५ फिट रहेको छ ।