पत्रपत्रिका

‘५ वर्षमा ८८ खर्ब चाहियो’

काठमाडौँ  । सरकारी तथा निजी क्षेत्रका अधिकारीले अवसरका फेहरिस्त सुनाउँदै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाल लगानी सम्मेलन २०१९ को उद्घाटन तथा छलफल कार्यक्रममा शुत्रबार नेपालका सबै अधिकारीले विदेशी लगानीकर्तासमक्ष आश्वासन र प्रतिबद्धता जनाउँदै अवसरलाई आत्मसात् गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै क्षेत्रमा लगानी गरे पनि नाफा हुने भन्दै ‘नेपाल लगानीको भर्जिनल्यान्ड’ भएको बताए । ‘अहिले हामीसँग राजनीतिक मात्र नभई नीतिगत स्थिरता पनि छ,’ उनले भने, ‘एक वर्षमा सरकारले वैदेशिक लगानी भित्र्याउन कानुनी र प्रक्रियागत सुधार गरी वातावरण तयार पारेका छौं ।’

त्यसका लागि संसद्ले विभिन्न कानुन जारी गरिसकेको जानकारी गराउँदै उनले त्यसमा भएको व्यवस्थाबारे चर्चा गरे । ‘हामीसँग अहिल्यै अनलाइन दर्ता र पेमेन्ट प्रणाली छ,’ उनले भने, ‘अब चाँडै स्वचालित बनाउँदैछौं ।’ प्रधानमन्क्री ओलीले लगानीकर्ताको जोखिम कम गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यत्रम ल्याएको बताए ।

‘सामाजिक सुरक्षा योजनाले उपचार, सुत्केरी बिदा र कामदारको सुरक्षालाई समेट्छ,’ उनले भने, ‘यसले औद्योगिक सम्बन्ध पनि सुधार्छ, लगानीकर्तालाई अर्थपूर्ण वातावरण प्रदान गर्न सघाउँछ ।’ उनले दोहोरो करमुक्ति सम्झौताका लागि इच्छा देखाउने राष्ट्रसँग सम्झौता गर्ने तयारी भएको बताए ।

दोहोरो करमुक्ति सम्झौता ११ देशसँग भइसकेको छ । थप ६ देशसँग गर्ने तयारी सरकारको छ । यो सम्झौतापछि एक देशमा तिरेको कर सोही शीर्षकमा अर्को देशमा तिर्न पर्दैन । ‘हामी रुचि राख्ने देशसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) पनि गर्छौं,’ ओलीले भने । नेपालले हालसम्म भारतसहित ६ वटा मुलुकसँग बिप्पा गरिसकेको छ । भारतबाहेकका देशसँग भएको सम्झौता कार्यान्वयनमा छ । अन्य आधा दर्जन देशले बिप्पा सम्झौता गर्न प्रस्ताव गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले आर्थिक नीति र विदेशी लगानी स्वागतका हिसाबले नेपाल उदार मुलुक भएको दाबी गरे । ‘हामीले लगभग सबै क्षेत्रमा शतप्रतिशत लगानी खुला गरेका छौं,’ उनले भने, ‘कर छुटको सुविधा पनि कानुनमै उल्लेख गरिएको छ ।’

नेपालसँग जनसांख्यिक लाभ भएको, युवापुस्ता अंग्रेजी भाषामा पनि अभ्यस्त र ज्यालादर सस्तो भएकाले विदेशी लगानीकर्ताका लागि अनुकूल देश रहेको उनले बताए । ‘अर्थतन्त्रका सूचकांक राम्रो रहेकाले नेपालमा लगानी गर्नु जोखिमरहित छ,’ उनले भने, ‘उद्योग व्यवसाय र लगानीसम्बन्धी विवाद फास्ट ट्र्याकबाट हेर्न सक्ने स्वतन्त्र अदालत हाम्रो न्यायिक प्रणालीको आधार हो ।’

पूर्वाधारका हिसाबले पनि नेपालको स्थिति सुध्रिएको उनको भनाइ थियो । ‘देशभित्र र बाहिर सडक सञ्जाल सुध्रिँदै छ,’ उनले भने, ‘केही वर्षअघिसम्म सपनाजस्तो लाग्ने काठमाडौं–तराई द्रुतमार्ग अहिले यथार्थ बन्दैछ ।’ सडकबाहेक रेल र जलमार्ग तथा प्रसारणलाइनबाट पनि दुवै छिमेकीसँग जोडिने उनलेदाबी गरे । उद्योगका लागि चौबीसै घण्टा विद्युत् उपलब्ध गराइएको र आवश्यकताभन्दा बढी विद्युत् चाँडै उत्पादन हुने उनले बताए ।

सरकारले स्थापना गरेको विशेष आर्थिक क्षेत्र ९सेज० मा उद्योग स्थापनाका लागि पूर्वाधार र सेवा दुवै आकर्षक भएको लगानीकर्तालाई सुनाए । देशका विभिन्न स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने योजना पनि उल्लेख गरे । ‘हरेक प्रदेशमा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने हाम्रो उद्देश्य छ,’ उनले भने, ‘हरेक स्थानीय तहमा साना तथा मझौला उद्यम प्रवर्द्धन गर्न औद्योगिक गाउँ स्थापना गर्ने सरकारको योजना छ ।’

छिमेकी दुई देशलाई देखाउँदै नेपालमा लगानी गरे बजारको अभावसमेत नहुने उनले बताए । ‘चीन र भारतजस्ता ठूला अर्थतन्त्रको बीचमा नेपालको अवस्थिति पनि लगानीकर्ताका लागि फाइदाजनक छ,’ ओलीले भने, ‘चीन र भारत दुवैले नेपालबाट निर्यात हुने धेरै सामानमा भन्सार छुट दिएका छन् ।’

नेपालमा लगानी गर्नेका लागि जलविद्युत् प्राथमिक क्षेत्र भए पनि कृषि, पर्यटन र खानीजस्ता क्षेत्र पनि आकर्षक रहेको बताए । ‘हामी कृषिलाई आधुनिकीकरण गर्न चाहन्छौं, जसका लागि ठूलो लगानी आवश्यक पर्छ,’ उनले भने, ‘नेपालमा उत्पादित ऊर्जाका लागि पनि क्षेत्रीय बजारको ढोका खुल्दै छ ।’

नेपालले सन् २०२३ सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य र त्यसका लागि दोहोरो आर्थिक वृद्धिको योजना उनले सुनाए । ‘अबको ५ वर्षमा नेपाललाई ८८ अर्ब डलर ९करिब ८८ खर्ब रुपैयाँ० लगानी आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हाम्रो आन्तरिक स्रोत मात्रै पर्याप्त हुन्न । विदेशी लगानी चाहिन्छ ।’

उद्घाटन सत्रमा अर्थमन्त्री युवराज खतिवडाले पनि अवसरकै बारेमा चर्चा गरे । विदेशी लगानीकर्तासँग सार्वजनिक–निजी साझेदारीका विभिन्न मोडलमा काम गर्न सरकार तयार रहेको बताए । उनले लगानीकर्तालाई सहज हुने गरी सरकारले कर प्रणाली र कानुनमा सुधार गरेको भन्दै लगानीका लागि आहवान गरे । नेपालको अर्थतन्त्रका सूचकांकको विषयमा जानकारी गराउँदै लगानीकर्तालाई जोखिम नहुने आश्वासन दिए ।

पूर्वअर्थमन्त्री रामशरण महतले अहिले नेपालको एक मात्र एजेन्डा आर्थिक समृद्धि भएको बताए । उनले नेपालमा प्रमुख आकर्षण जलविद्युत् क्षेत्र भएको भन्दै यसमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । उनले नेपालको कृषि, पूर्वाधार, जडीबुटी क्षेत्र पनि लगानीका लागि आकर्षक रहेको बताए । ‘सामाजिक क्षेत्रमा नेपालले गरेको प्रगति दक्षिण एसियामै उच्च छ,’ उनले भने, ‘अब नेपालको ध्यान आर्थिक वृद्धिमा छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले नेपाली उपझोक्ताको आय शत्ति बढदैगएको तथ्यांक पेस गर्दै नेपालमा लगानी गर्नेले कहिल्यै घाटा ब्यहोर्नु नपर्ने बताए । उनले कृषिसहितका उपभोग्य वस्तु आयात नेपालमा बर्सेनि बढेकाले नेपालमैउद्योग स्थापना गरे बजार सुनिश्चित हुने बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले कानुन सुधार गरेको र जनसांख्यिक लाभ भएकाले लगानीका लागि उपयुक्त समय भएको बताए ।

विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्डविग स्याफरले नेपालले तय गरेको मध्यम आय भएको मुलुक बन्ने र दिगो लक्ष्य हासिल गर्ने उद्देश्यका लागि सार्वजनिक लगानी मात्रै पर्याप्त नहुने भएकाले विदेशी लगानी आकर्षित गर्नुपर्ने बताए । ‘गरिबी न्यूनीकरणको हिसाबले नेपालले उल्लेख्य प्रगति गरेको छ,’ उनले भने, ‘नेपालले कानुन सुधार मात्रै होइन, कार्यान्वयनमा पनि जोड दिनुपर्छ ।’

एडीबीका दक्षिण एसिया उपाध्यक्ष सिछिङ चेनले नेपालजस्तो विकासोन्मुख मुलुकले पूर्वाधारमा लगानी गर्नुपर्ने सुझाव दिए । भारतीय कम्पनी मुथुट ग्रुपका प्रमुख कार्यकारी अधिकृत जर्ज मुथुटले नेपालको बैंकिङ क्षेत्रमा लगानी बढाउन चाहेको बताए ।

मेनहार्ट ग्रुपका अध्यक्ष शाहजाद नसिमले अन्य उदाउँदा देशले जस्तै नेपालले पनि सहरी पूर्वाधारको समीक्षा गर्नुपर्ने धारणा राखे । ‘दक्षिण एसियाली मुलुकले आफ्नो अर्थतन्त्रको करिब ३ प्रतिशत मात्रै पूर्वाधारमा लगानी गर्छन्,’ उनले भने, ‘यसलाई बढाएर कम्तीमा ७ प्रतिशत गराउनुपर्छ ।’

सम्मेलनमा सहभागी हुन आएका म्यानमारका लगानी तथा वैदेशिक आर्थिक सम्बन्धमन्त्री यु थुङ टुनले एसियाले विश्व अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगट्ने भए पनि आर्थिक वृद्धिदरका हिसाबले दुई तिहाइ हिस्सा ओगट्ने बताए । उनले दक्षिण एसियाली मुलुकले लोभलाग्दो आर्थिक वृद्धिदर हासिल गरेको र म्यानमार पनि लगानीका लागि उपयुक्त गन्तव्य भएको बताए ।……कान्तिपुर दैनिकबाट साभार