अन्तर्राष्ट्रिय

होङवेईमाथि लगाइएको घुस आरोपबारे प्रमाण पेश गर्न चीन सरकार विफल

लीअन, फ्रान्स । अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल, इन्टरपोल,का पूर्व प्रमुख मेङ होङवेईमाथि लगाइएको घुस आरोपबारे प्रमाण पेश गर्न चीन सरकार विफल भएको उनकी पत्नी ग्रेस मेङले शुक्रबार बताईन् ।

सात महिना पहिले अर्थात् गत बर्षको सेप्टेम्बर उनीमाथि घुस लिएको आरोप लागेपछि उनलाई अनुसन्धानका लागि चीनले स्वदेश फिर्ता बोलाएको थियो । छ महिना पहिले चीन पुगेका होङवेई एक्कासी सम्पर्कबाहिर पुगेपछि परिवार र आफन्तको खोजीपछि उहाँ चीनमा नै रहेको र उनीमाथि अनुसन्धान भइरहेको बताएको थियो ।

चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष होङवेईले केही समयपछि राजीनामा दिएको चिनियाँ अधिकारीहरुले बताएका थिए । चिनिया कानुनको उल्लङ्घनको आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको थियो । होङवेईले विगतमा चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका थिए । इन्टरपोलले सम्पर्कबाहिर रहेको केही हप्तापछि मेङले “तत्काल लागू हुनेगरी” दिएको राजीनामा प्राप्त भएको जनाएको थियो ।

“चिनियाँ अधिकारीले होङवेईमाथि वास्तविक आरोपबारे सबुत दिन असफल भएको वा आरोप पुष्टि गर्ने कुनै तथ्य दिन असफल बनेको छ,” होङवेइका वकीलद्वारा जारी प्रेस विज्ञप्तिमा पत्नी ग्रेसले बताएको उल्लेख छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले यसै हप्ता मेङ होङवेईलाई कम्युनिष्ट पार्टीबाट हटाइएको र उहाँको मुद्दालाई अभियोजनकर्तालाई जिम्मा लगाइएको खुलाएको थियो ।

होङवेईकी पत्नी ग्रेसले यसै हप्ता चीनका राष्ट्रपति फ्रान्सको भ्रमणमा रहेका समय आफ्ना पतिको मुद्दाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्न फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँलाई आग्रह गरेका थिए । राष्ट्रपति सी फ्रान्सबाट फर्केपछि सार्वजनिक सुरक्षा मन्त्रालयले मेङ होङहोईले ‘अवैधरूपमा ठूलो राशी उपहार लिएको’ र राज्यको सम्पत्तीको दुरूपयोग गर्दै आफ्नो परिवारलाई ऐसआराम गराएको दावी गरेको थियो ।