अन्तर्राष्ट्रिय

निर्वाचन अनियमितता भएको भन्दै आयोगमा मुद्दा दर्ता

बैंकक । थाइल्याण्डको सेनाविरोधी उम्मेदवारद्वारा हालै भएको आम निर्वाचनमा अनियमितता गरी निर्वाचन परिणाम आफ्नो पकडमा पारेको भन्दै यहाँको निर्वाचन आयोगमा मुद्दा दर्ता गराएका छन् ।

उनीहरूले मत गणनामा धाँधली गरिएको, मतदातालाई आर्थिक प्रलोभनमा पारी मत परिणाम आफ्नो अनुकुल बनाएको लगायतका आरोप लगाएका छन् । सेनाको समर्थन प्राप्त पार्टी र निर्वासित जीवन विताइरहेका अर्बपतिको समर्थन रहेको मुख्य प्रतिस्पर्धी दल दुवैले आइतबारको मतदानबाट नेतृत्व गर्ने अधिकार आफ्नो पक्षमा रहेको दावी गरिरहेका छन् भने विवादबीच निर्वाचन आयोगद्वारा अन्तिम परिणाम सार्वजनिक गर्न ढिला गरी बिहीबारमात्र सार्वजनिक भएको छ ।

सैनिक शासनविरोधी फ्युचर फरवार्ड पार्टीले सैनिक निकट मानिने फालाङ प्रचारथले स्थानीय अधिकारीलाई नगद तथा उपहारको प्रलोभनमा पारी निर्वाचनमा धाँधली गरेको दावी गरेको छ । “यो कानूनविरुद्ध छ, यसलाई मत किनेको रूपमा हेरिन्छ,” फ्युचर फरवार्डका प्रवक्ता पान्निका वानिचले बताए । यसैगरी सोही दलका अर्का उम्मेदवार क्रिस पोट्राननले बैंकककै मतदान केन्द्रमा मतदातालाई त्रास सिर्जना गरी सैनिक पक्षधर मानिने फालाङ प्रचारतको पक्षमा मत परिणाम पारेको आरोप लगाएका छन् ।

पोट्रननले मतदानका लागि तोकिएको गोप्य स्थानमा सेनालाई राखी सेनाको निकट मानिने दललाई मतदान गर्न निर्देशन दिएको आरोप लगाएका छन् । उनीहरू लगायत फ्युचर फरवार्डका अन्य केही उम्मेदवारले अनियमितता भएका कतिपय स्थानमा पुनः मतदान र बाँकी केही स्थानमा पुनः मतगणना गर्न निर्वाचन आयोगमा दर्ता गरेका छन् । निर्वाचन गतिविधि र निर्वाचन परिणामलाइ लिएर १८० भन्दा बढी मुद्दा आयोगमा दर्ता भएका छन् ।

मतगणना अनुसार निर्वाचनमा जम्मा २१ लाख मतपत्र गणनाका लागि अयोग्य भएको हिसाव दलहरूले सार्वजनिक गरेका छन् तर यसबारे निर्वाचन अधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन् । क्षेत्रीय निर्वाचन अनुगमनकारी संस्था (एएनएफआरइएल) ले निर्वाचनको मत परिणामलाई अव्यवस्थित तरिकाले सार्वजनिक गरिनुलाई निर्वाचन आयोगको कमजोरी बताएको छ ।

आइतबारको निर्वाचनमा फालाङ प्रचारथका प्रधानमन्त्रीका उम्मेदवार प्रयुत चान ओचाको पक्षमा लोकप्रिय मतको बहुमत रहेको देखिएको छ । ओचा सन् २०१४ मा असफल राज्य विद्रोह ‘कू’ गर्ने प्रयास गरेका नेता हुन् ।