सुदूरपश्चिम

नयाँ घर पाएपछि गाउँ नै रङ्गीचङ्गी , १२ दलित घरपरिवार लाभान्वित

डोटी । नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला गाउँमा घर बनाउँदा गाउँ नै आकर्षक देखिएको छ । सो कार्यक्रमले स्थानीय विपन्न परिवारका घर बनाइदिँदा पिपल्लाका मात्रै १२ दलित घरपरिवार लाभान्वित भएका छन् ।

ती दलित घरपरिवारलाई सरकारले रु दुई लाख ३३ हजार ७०० लागतमा दुईकोठे घर निर्माण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायल राजपुरका डिभिजन प्रमुख झप्पसिंह विश्वकर्माले बताए । उनले भने, “हामीले विपन्न परिवारका लागि दुईकोठे घर, भान्सा र शौचालय बनाएका छौँ, अहिले बस्तीको मुहार नै फेरिएको छ ।”

डिभिजन कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र डोटीमा रहेका दलित तथा राउटे परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहाडी जिल्लाका विपन्न तथा दलित परिवारका लागि घर निर्माण भइरहे पनि डडेल्धुरा आमपानीका राउटे र दिपायलका वादी समुदायसँग आफ्नो जमीन नभएकाले भवन निर्माण गर्न कठिनाइ भएको डिभिजन प्रमुख विश्वकर्माले बताए । उनले भने, “राउटे र वादी समुदायसँग एक टुक्रा जमीन पनि छैन, जमीन नहुँदा उनीहरु घर अनुदानबाट बन्चित भएका छन्, जग्गा हुनेको हामी घर बनाउन रकम तत्कालै दिन्छौँ ।”

जनता आवास कार्यक्रमले घर निर्माण हुनथालेको भन्दै दिपायल पिपल्लाका विपन्न दलित समुदाय निकै खुशी भएको स्थानीय कृष्णबहादुर विकले बताए । उनले भने, “घर नभएर कहाँ बसौँ भन्ने थियो, सानो टहरोमा रात बिताउन बाध्य थियौँ, अब त हामी पनि पक्की घरमा बस्न थाल्यौँ, खुशी छौँ ।”

पुराना तथा भत्किने अवस्थाका सबै घर हटाएर नयाँ तथा रङ्गीचङ्गी घरहरु निर्माण भएपछि यहाँको दलित बस्ती अहिले हेर्नलायक तथा आर्कषक भएको दिपायल गैराका स्थानीयवासी राम कामीले बताए । उनले भने, “पहिला हामीलाई आफ्नै घर देखाउन पनि लाज लागेर आउथ्यो, अहिले त नयाँ घर पाएपछि गाउँ नै रङ्गीचङ्गी भएको छ ।” जनता आवास कार्यक्रमले डोटी जिल्लाभरिमा सयौँ घर निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ ।