अन्तर्राष्ट्रिय

फिएट क्रिस्लरले १५०० कामदार कटौती गर्ने घोषणा

मोन्ट्रियल । फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए) ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो निर्णय लिनुपरेको उल्लेख छ ।

कटौतीमा पर्ने सबै कर्मचारीलाई अवकाश प्याकेज उपलब्ध गराइने छ । टोरन्टो नजिक ओशावामा रहेको जनरल मोटर्सको प्लान्टबाट पनि जनरल मोटर्सले सन् २०१९ को अन्त्यदेखि दुई हजार ५०० भन्दा बढी कामदार कटौती गर्दैैछ । युनिफर युनियनका अध्यक्ष जेर्री डायसले गर्नुभएको ट्वीटमा भनिएको छः “म फिएटको निर्णयबाट निकै दुःखी छु ।” उनले एफसीएसँग तत्कालै आपतकालीन बैठक गर्नु आवश्यक रहेको समेत बताए ।

विन्डसरस्थित क्रिस्लरको प्लान्टमा करिब ६ हजार १०० कामदार छन् । यस प्लान्टबाट क्रिस्लर प्यासिफिका र डज ग्रान्ड काराभान नामको मिनिभ्यान उत्पादन हुने गर्दछ । फिएट क्रिस्लरले गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकाको “मोटर नगर” नामबाट चिनिने डेट्रोइटमा नयाँ कार प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो । करिब ४ अर्ब ५० करोड डलरमा निर्माण गरिने नयाँ प्लान्टले झण्डै ६ हजार ५०० लाई रोजगारी दिने बताइएको छ ।