खेलकुद

एपिएफका दिपेश र सेनाकी रशिलालाई कृष्णमोहन स्मृती ब्याडमिन्टन उपाधी

काठमाडौँ । एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी हात पारेका छन् । पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१ । १२, १८ । २१, २१ । १४ ले पराजित गर्दै उपाधी हात पारेका हुन् । उनले नगद ६० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दिपेशले यो प्रतियोगितामा पुरुष एकल, युगल, मिश्रीत युगल तर्फ गरि तीन उपाधी हात पारे । गत संस्करणका विजेता रत्नजीत तामाङ्ग प्रशिक्षणका क्रममा जापानमा रहेका कारण प्रतियोगितामा उपस्थित थिएनन् ।

महिला एकल तर्फ अघिल्लो संस्करणकी उपविजेता सेनकी रशिला महर्जनले उपाधी उचालिन् । महर्जनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् । उनले आयोजक एपिएफकी जेशिका गुरुङ्गलाई २१ । १४, १३ । २१, २१ । १८ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । महर्जन छात्रा यु – १७ को पनि विजेता हुन् । गत बर्षकी विजेता सेनाकी नङ्गशल देवी तामाङ्गले कार्य ब्यस्तताका कारण प्रतियोगितामा सहभागिता जनाएकी थिईनन् ।

यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपिएफका दिपेश धामी र विजीत थापा मगरले ट्रफी उचाले । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१ । १६, २१ । ४ को सहज जित निकाले । महिला युगल तर्फ एपिएफकी पुजा श्रेष्ठले आफ्नो साख जोगाईन् । उनले जेशिका गुरुङ्ग संग मिलेर महिला एकलकी विजेता सेनाकी रशिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाईन् । श्रेष्ठ र गुरुङ्गको जोडीले महर्जन र राईको जोडीलाई २१ । १०, २१ । १९ को सोझो सेटमा पराजित गरे । गर्त बर्ष जित हात पार्दा पुजाको जोडीमा शिक्षा श्रेष्ठ थिईन् ।

बिजयी खेलाडीहरुले ट्रफी मेडल, प्रमाण पत्रका साथै नगद पुरस्रका प्राप्त गरे । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक राम शरण पौडेल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, लगायतले पुरस्कार वितरण गरेका थिए ।

कुल ७ लाख १० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा पुरुष एकल र युगलका शिर्ष दुईले नगद ६० र ३० हजार तथा तेश्रो स्थानका दुईले नगद २५ हजार (१२ हजार ५ सय गुणा २) प्राप्त गरे । यस्तै पुरुष एकल तर्फ क्वाटरफाईनल पुग्ने ४ खेलाडीले प्रत्येकले नगद ५ हजार प्राप्त गरे । महिला एकल तर्फ शिर्ष दुईले नगद ५० हजार र २५ हजार तथा तेश्रो हुनेले नगद १२ हजार ५ सय प्राप्त गरे । महिला युगल तर्फ प्रथम हुने जोडीले नगद ४० हजार, दोश्रो जोडीले नगद २५ हजार र तेश्रो जोडीले नगद १० हजार प्राप्त गरे ।