कृषि

वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट

हेटौंँडा । वर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।

वर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त परिणामको कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र एक हजार ४६३ किलो दाना पनि नष्ट गरिएको छ ।

जिल्लामा देखिएको वर्डफ्लु नियन्त्रणमा उच्च प्राथमिकता दिएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताए ।

वर्डफ्लुु नियन्त्रणका लागि पशुचिकित्सकले जारी गरेको प्रमाणपत्रका आधारमा मात्र जिल्लामा कुखुराको चल्ला भित्रिन दिने र कुखुरा र कुखुराजन्य सामग्रीको बिक्री पनि प्रमाणपत्रका आधारमा नै गर्न दिइने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

वर्डफ्लु सङ्क्रमण नियन्त्रण युनिटका डा सुशीला श्रेष्ठका अनुसार हालसम्म मकवानपुरका ३२ किसानको फार्ममा तीन चरणमा सङ्क्रमित कुखुरा नष्ट गरिएको बताए ।

यसैबीच मकवानपुरको हटिया र कमानेमा पनि वर्डफ्लुुको सङ्क्रमित कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ । वर्डफ्लुुका कारण हेटौँडामा कुखुराको मासु बिक्री वितरणमा कमी आएको व्यवसायीले जनाएका छन् ।