बाग्मती

विपन्न नागरिकको लागि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

भक्तपुर । भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ ।

भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो ।

मोतिबिन्दु शल्यक्रियाको उद्घाटन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमै सबै किसिमका आँखा सेवाको उपचार शुरु हुनु गौरवको विषय भएको बताए । उनले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकले सस्तो र गुणस्तरीय सेवा यहाँबाट पाउने विश्वास व्यक्त गरे ।

नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरमा उपलब्ध स्वास्थ्य सेवाले देशभरीका बिरामी लाभान्वित हुने बताउँदै मोतिबिन्दु शल्यक्रिया कार्यक्रमले आँखाका धेरै रोगीले सेवा पाउने विश्वास व्यक्त गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा आँखा उपचारको सेवा विस २०६३ देखि शुरु भएको बताउँदै अब तिलगङ्गा आँखा अस्पतालमा भन्दा सस्तो र गुणस्तरीय शल्यक्रिया सेवा यहाँ शुरु भएको धारणा व्यक्त गरे ।

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै उहाँले नगरपालिकाले नगरवासीको सुविधाका लागि पाठेघर, मधुमेह, उच्च रक्तचाप, मिर्गौला परीक्षण, खकार, दमखोकी लगायतको स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइतले स्वास्थ्य क्षेत्रमा थपिएको चुनौतीलाई ख्वप अस्पतालले निजी स्वास्थ्य क्षेत्रसँग प्रतिस्पर्धा गरी जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भनपा– ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख दिवाकर पौडेल, जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख धीरज अधिकारीले यसबाट हुने सेवाका बारेमा चर्चा गरे ।

यहाँबाट लेन्सको पावर जाँच, आँखाको एक्स–रे, आँखाभित्र मासु पलाएको, शल्यक्रिया, परेला च्यातिने, मोतिविन्दु, टेढो आँखा जाँच, जलबिन्दु, मेसिनबाट चश्मा जाँच लगायतका सेवा उपलब्ध हुनेछन् । आज र भोलि १३० जना भन्दा बढीे मोतिबिन्दु भएकाको निःशुल्क शल्यक्रिया गरिने छ ।