बाग्मती

आलुखेतीमा यान्त्रिकरणले आलुखेतीमा सरलता

काभ्रेपलाञ्चोक । आलुखेतीमा यान्त्रिकरणले यहाँका कृषकलाई लगानी तथा उत्पादनमा निकै सरलता भएको पाइएको छ । आलुखेतीका लागि ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागत कम भएको र उत्पादनमा समेत कमी नभएको मण्डन देउपुर नगरपालिका–७ पौवाटारका कृषक गोविन्द नेपालले बताए।

उनले भने, “आलु रोप्ने ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागतमा कमी हुन्छ, समयको पनि बचत हुन्छ ।” उनको दुई रोपनी जमीनमा आलुको ड्याङ बनाउन पाँच जना कामदार लाग्नेमा यन्त्रले पौने दुई घण्टामा सकाइदिएको थियो । ड्याङ पार्नप्रति कामदार दैनिक ज्याला एक हजारका दरले पाँच हजार दिनुपर्नेमा यन्त्रको प्रयोगले एक हजार ४०० मा काम सकिएको नेपालले बताए ।

उनले भने, “यन्त्र प्रयोग गर्दा कामदारलाई खाजा ख्वाउनुपर्ने झन्झट र खर्च पनि जोगियो ।” उनले आउँदो वर्ष आलु गोड्ने यन्त्रको प्रयोगात्मक अभ्यास गरिने जानकारी दिए । कृषक नेपालले यन्त्रबाट आलुको ड्याङ बनाउँदा उत्पादन लागतमा समेत कमी हुने भएपछि हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (आलु सुपरजोन) मार्फत ५० प्रतिशत अनुदानमा यन्त्र खरीद गरेका छन् । उनले भने, “यन्त्रबाट र मानिसले कोदालीद्वारा आलुको ड्याङ पार्दा उत्पादनमा पनि समान नै देखियो, अब यन्त्रले नै ड्याङ पार्छौँ ।”

उनले यस वर्ष दुई रोपनीमा अभ्यासअनुरुप यन्त्रले ड्याङ बनाएको तर आउँदा वर्षमा आफ्नो छ रोपनीमै यन्त्र प्रयोग गर्ने सुनाउनुभयो । अर्का कृषक हरिप्रसाद लम्सालले पनि आउँदो वर्ष आलुखेती गर्न यन्त्रले नै ड्याङ बनाउने बताए । उनले भने, “हामीले गोविन्दको खेतमा आलुको ड्याङ बनाउँदा यन्त्र प्रयोगदेखि उत्पादनको समयसम्म बुझिरहेका छौँ, यन्त्रको प्रयोगले उत्पादन लागतमा निकै सरलता पायौँ, समयको पनि बचत देखियो ।”