पर्यटन/संस्कृति

पर्यटन परियोजना छनोट भएकोमा खुसी

दमौली । सरकारको आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनका लागि तनहुँको ब्यास नगरपालिकाको पर्यटन परियोजना छनोट भएपछि स्थानीय सरकारमा उत्साह छाएको छ । पर्यटन पूर्वाधार क्षेत्र अन्तर्गत दमौली बहुउद्देश्यीय पर्र्यटन परियोजना सम्मेलनका लागि छनोट भएपछि नगरपालिकामा उत्साह छाएको हो ।

काठमाडौँबाट १५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल सहितको संरचना निर्माणका लागि सरकारले लगानी सम्मेलनमा प्रस्ताव गरेको छ । नगरपालिकाको धेरै वर्ष पहिलादेखि मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल बनाउने योजनालाई सरकारले प्राथमिकतामा राख्नु खुशीको कुरा भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

मादी नदीमा कृत्रिम ताल निर्माणका लागि प्रदेश सरकारसँग समेत पटक÷पटक छलफल भएको र अहिले आएर सङ्घीय सरकारले नै यसको अपनत्व लिँदा उत्साह जागेको उनले बताए । उनले भने, “प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग धेरै चरणको छलफल ग¥र्यौ, यो परियोजनाको लागि प्रदेश सरकार सकारात्मक रह्यो, अहिले सङ्घीय सरकारकै तर्फबाट लगानी सम्मेलनमा योजना छनोट भएर प्रस्ताव हुनु समग्र जिल्लाकै लागि गौरवको विषय हो ।”

न्यौपानेका अनुसार परियोजनाको विषयमा लगानी बोर्डसँग समेत पटक÷पटक छलफल भएको थियो । लगानी बोर्डका तर्फबाट प्राविधिकसहितको टोलीले कृत्रिम ताल निर्माण गर्ने ठाउँको सम्भाव्यता अध्ययनसमेत गरेको थियो । उनले भने, “अध्ययनपछि यस ठाउँमा कृत्रिम ताल निर्माण गर्न उपयुक्त छ भन्ने निष्कर्षसहित परियोजना प्रस्ताव भएको छ, यो योजनाले दीर्घकालीन महत्व राख्छ ।” लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत हुने ५० योजनामा सो परियोजना पर्नु गौरवको विषय भएको नगर प्रमुख न्यौपानेको भनाइ छ ।

वडा नं ३ र ५ को बीच भागमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको नगरपालिकाका योजना शाखा प्रमुख इञ्जिनीयर राजु पौडेलले जानकारी दिए। उनका अनुसार उक्त परियोजनाको कुल लागत रु ६ अर्ब रहेको छ । परियोजनालाई सरकारी निजी समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । जमीन अधिग्रहण, कानूनी प्रक्रियाको जिम्मेवारी सरकारको रहेको छ भने डिजाइन र निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको प्रस्ताव छ ।

परियोजनामा एक तिहाइ लगानी सरकारको रहनेछ । निर्माण शुरु भएको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजना निजी क्षेत्रले ३० वर्षसम्म सञ्चालन गर्नेछ । उक्त समयपछि परियोजना सरकारलाई हस्तान्तरण गरिनेछ । परियोजना अन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, पाँच सय क्षमताको सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण हुनेछन् । परियोजना निर्माणले वेदव्यासभूमिको विकासमा ठूलो टेवा पुग्ने नगर प्रमुख न्यौपानेले बताए । उनले भने, “यो ठाउँ काठमाडौँ र पोखराको नजिक भएकाले पर्यटकलाई आकर्षित गराउन सहयोग पुग्नेछ ।” नगरपालिका र प्रदेश सरकारबीच तालको विस्तृत सम्भाव्यता अध्ययनका लागि सहमति समेत भइसकेको छ ।