बाग्मती

वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् ।

त्यसैगरी टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ । टर्कीका १८ प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् भने तेस्रो नम्बरमा रहेको कतारका ११ प्रतिशत मुद्दा फोरममा दर्ता भएका छन् । जिल्लागत रुपमा सुनसरी पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा सर्लाही छ । त्यसैगरी तेस्रो नम्बरमा झापा छ । त्यसैगरी चार महिनामा व्यक्तिगत उजूरीका दाँजोमा संस्थागत उजूरी नै बढी छन् । चार महिनामा संस्थागत ठगीका उजुरुी ७० प्रतिशत छ भने व्यक्तिगत उजूरी ३० प्रतिशत छ ।

त्यस्तै लिङ्गका आधारमा हेर्दा महिलाको दाँजोमा पुरुषहरु बढी ठगीमा परेको देखिएको छ । तथ्याङ्कानुसार पुरुषका ९२ प्रतिशत उजूरी छन् भने महिलाका आठ प्रतिशत मात्र उजूरी छन् । त्यसैगरी जातिगत रुपमा हेर्दा ३८ प्रतिशत ब्राह्मण÷क्षेत्री समुदाय, ३६ प्रतिशत जनजाति, १६ प्रतिशत मधेशी, नौ प्रतिशत दलित र एक प्रतिशत अन्य जातजातिका उजूरी परेका छन् । त्यसैगरी ठगीको प्रकृतिका आधारमा हेर्दा प्रलोभन देखाएर स्वदेशभित्रैका ५० प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् ।

त्यस्तै भनेको जस्तो काम र तलब नपाउने अन्तर्गत १४ प्रतिशत, कम ज्यालामा आठ प्रतिशत, उद्धार र तलब नदिएकामा पाँच प्रतिशत र राहदानी नदिइएकामा दुई प्रतिशत उजुरी दर्ता भएका छन् । दुई प्रतिशतलाई फोरमले आर्थिक सहयोगसमेत गरेको छ । फोरमले आर्थिक वर्ष २०७५÷०७६ को फागुन मसान्तसम्म मात्र १६ हजार ७६३ जनालाई कानूनी सहायता दिएको छ । फोरमले गरेको कानूनी सहायताअन्तर्गत रु ६० करोड एक लाख नौ हजार ६८५ विगोवापतको रकम उठाउन सफल भएको छ ।