उर्जा

जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका तारको अवस्था

भादगाउँ । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा (बिस्केट जात्रा) को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार यही चैत २५ गते सम्बन्धित निकाय आफैले व्यवस्थापन गर्ने र अनावश्यक तारहरू हटाउने भएको छ ।

बिस्का जात्राका सकारात्मक पक्षका बारेमा देशभरी र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकबाट आफ्नो क्षमताअनुसार प्रत्यक्ष प्रसारण गर्ने, जात्रालाई समयमै शान्तिपूर्ण ढङ्गले मनाउने क्रममा स्थानीय जनतालाई उत्साहित गर्न आ–आफ्नो तर्फबाट सूचना प्रकाशित एवं प्रसारण गर्ने, सेवा प्रदायकले नियमाअनुसार भक्तपुर नगरपालिकामा दर्ता र नवीकरण गर्ने तथा नियमानुसार समयमै कर तिर्ने लगायतका सहमति समेत भएको छ ।

बिस्काः जात्राका रुटको तार व्यवस्थित गर्ने सम्बन्धमा भएको छलफलमा बिस्काः जात्राका क्रममा रथ तान्ने रुट, जात्रा सञ्चालन हुने क्षेत्र र लिङ्गो उठाउने ठाउँमा रहेका तारको अवस्थाबारे जानकारी लिने तथा व्यवस्थापन गर्ने हेतुले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राधिकरण, टेलिकम र केबुल टेलिभिजन, इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिको संयुक्त टोलीले आइतबार स्थलगत निरीक्षण गर्ने निर्णय समेत गरेको छ ।

छलफलमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दर्ताबिना सञ्चालित व्यवसाय गैरकानूनी हुने भएकाले समयमै नियमसङ्गत रुपले आ–आफ्नो व्यवसाय र केबल नेटवर्क दर्ता गर्नुपर्ने बताए । वडा नं– ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जात्राव्यक्ति विशेषको नियन्त्रणमा नहुने भएकोले सम्बन्धित सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट व्यवस्थापनका लागि पहल गर्नुपर्ने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले शहर कुरुप हुनबाट रोक्न र सम्भावित दुर्घटना न्यूनीकरणको लागि अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता भएको बताए ।