सुदूरपश्चिम

भरुवा बन्दूकसहित ३५ वर्षीय एक जना पक्राउ

डोटी । दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो । विनाइजाजतको हतियार बोकेकाले अभियुक्त बिठाडीलाई हातहतियार खरखजाना तथा विस्फोटक पदार्थ कसूरअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए । अभियुक्त बिठाडीलाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय डोटीमा राखी बयान लिइरहेको छ ।