अन्तर्राष्ट्रिय

उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने

सियोल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जाने भएका छन् । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार दुई नेताबीचको भेटवार्तामा मुख्यरुपमा हाल अबरुद्ध रहेको उत्तर कोरियासँगको आणविक निःशस्त्रीकरणका विषयमा छलफल हुनेछ ।

उत्तर कोरियाका विषयमा अमेरिकी राष्ट्रपतिसँग राष्ट्रपति मूनको यो सातौं वार्ता हो । भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीचको बहुचर्चित वार्ता भङ्ग भएपछि दुई नेताबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो । “कोरियाली प्रायःद्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण सम्पन्न गर्नेतर्फ अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिले पुनः घनीभूत छलफल गर्नुहुनेछ । भेटवार्तामा कोरिया र अमेरिकाबीचको पारम्परिक सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरुको पनि खोजी हुनेछ,” दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको हनोई वार्ता आणविक निःशस्त्रीकरण पहिले कि उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा पहिले गर्ने भन्ने विषयमा मतभिन्नता भएपछि भङ्ग भएको थियो । तर उत्तर कोरियाले आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गर्न मात्र आग्रह गरिएको बताउँदै आएको छ । अमेरिकाले भने उत्तर कोरियाले सबै प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने अडान राखेपछि वार्ताको औचित्य सकिएको बताएको थियो ।

हनोई वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको सम्पूर्ण प्रक्रिया समाप्त नभएको र आफू अझै पनि वार्ता हुनेमा सकारात्मक रहेको बताएका थिए। उत्तर कोरियासँग सम्बन्ध सामान्यीकरणमा केन्द्रित गरिरहेको दक्षिण कोरियाले अन्तर–कोरियाली परियोजनाहरु पनि अघि बढाएको छ । दक्षिण कोरियाका यी परियोजनाले अमेरिकासँगको सम्बन्धमा तिक्तता आउने सम्भावना पनि छ ।

सियोलले संयुक्त राष्ट्रसंघकै संरचनाभित्र रही उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः खुला गर्ने तयारी थालेको छ । साथै उत्तर कोरियाको माउन्ट कुमगाङमा पर्यटन कार्यक्रम पुनः शुरु गर्न पनि सियोलले पहल गरिरहेको छ । उत्तर कोरियासँग पछिल्ला दिनहरुमा कुनै सम्पर्क भएको छ भनी सोधिएको प्रश्नमा राष्ट्रपति कार्यालयका एक अधिकारीले नाम नबताउने शर्तमा भने, “अन्तर–कोरियाली सम्मेलनको तत्काल सम्भावना देखिन्न । तर कुनै पनि समय त्यस्तो वार्ता हुन सक्छ ।” राष्ट्रपति मून र उत्तर कोरियाली नेता किमले गत वर्ष तीन पटक भेटघाट गर्नुभएको थियो । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाको भ्रमण गर्ने यसअघि घोषणा गरिए पनि त्यस्तो मितिको अझै टुङ्गो लागेको छैन ।