पत्रपत्रिका

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिदैँ, शिक्षा मन्त्रालयले आकस्मिक सुरक्षा समितिको बैठक डाक्यो

काठमाडौँ । एसईई परीक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ । परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा सुरक्षा समिति रहने व्यवस्था छ । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा दिउँसो १२ बजेका लागि बैठक डाकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

समितिमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन् । शिक्षा सचिव खगराज बरालको अध्यक्षतामा बैठक बस्न लागेको हो । बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रीय परीक्षा समन्वय समितिको बैठक बसेको थियो । उक्त बैठकले प्रदेश २ को सामाजिक विषयको शुक्रबारको परीक्षा रद्द गर्ने निर्णय मात्र गर्यो । थप निर्णय सुरक्षा समितिको बैठक पछि गर्ने सम्भवना छ । आगामी दिनको परीक्षा के कसरी सञ्चालन गर्ने, परीक्षाको समग्र सुरक्षा व्यवस्था कसरी मिलाउने र रद्द भएको परीक्षा कहिले गर्ने र छानविनलाई कसरी अघि बढाउने लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

दिनदिनै प्रश्नपत्र आउट हुन थालेपछि समितिले परीक्षाको अर्को मिति नतोकेको बैठकमा सहभागी एक सदस्यले कान्तिपुरसँग बताए । परीक्षा हुन बाँकी विषयको समेत प्रश्नपत्र आउट भइसकेको हुनसक्ने आंशका समेत गरिएको छ । स्रोतकाअनुसार उक्त बैठकले आउट भएको प्रश्न केन्द्रमा सिलबन्दी गराएर पठाएका प्रश्नहरु मध्येबाट हुबहु रहेको निर्ष्कष समेत निकालेको छ । त्यस्तै बोर्डले अमोदा श्रेष्ठको संयोजकत्वमा गठन गरेको छानविन समिति आजै प्रदेश २ तर्फ जाने जनाइएको छ । कान्तिपुर