लुम्बिनी

खानको हत्यामा संलग्नलाई कारवाहीको माग

रुपन्देही । बुटवलमा बुधबार भएको फिरोज खानको हत्यामा संलग्नलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै व्यवसायीले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएका छन् ।

बुटवलको मैनाबगरमा गोली प्रहारबाट मृत्यु भएका खानको हत्यामा संलग्न व्यक्ति वा समूह जो भए पनि तत्काल पत्ता लगाई कारवाही गर्न दबाब दिँदै मैनाबगरका पसल बन्द गरेर व्यवसायीले इलाका प्रहरीमा ज्ञापनपत्र बुझाएका हुन् ।

व्यस्त अटो बजारमा गोली प्रहार हुँदा व्यवसायी एवं मजदुरले असुरक्षित महसुस गरेको भन्दै बुटवल अटो इञ्जिनीयरिङ एशोसिएसनले पनि इलाका प्रहरीमा ज्ञापनपत्र बुझाएको छ । अटोभिलेजमा रहेको ज्योति एण्ड वर्कसपमा कार्यरत खानको बुधबार गोली प्रहार गरी हत्या गरिएको थियो ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिलबहादुर मल्लले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । उनले प्रहरीले छिट्टै हत्यारालाई पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धता जनाए ।