बाग्मती

मिडियामा महिलाको सहभागिता बढ्न नसकेकोमा सरोकारवालाहरुले चिन्ता

चितवन । सञ्चार माध्यममा महिलाको सहभागिता बढ्न नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । क्रियाशिल पत्रकार महिला चितवनले बिहीबार यहाँ आयोजना गरेको ‘मिडियामा महिला सहभागिता, चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा वक्ताले महिलाको सहभागिता बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य सृजना अर्यालले सम्भावना भएर पनि चुनौतीहरु चिरेर मिडियामा प्रवेश गर्ने क्रम बढ्न नसकेको बताईन् । मिडियामा भएकाले पनि निरन्तरता दिन नसक्दा महिलाको सहभागिता कमजोर भएको उनले बताईन्।

अर्का केन्द्रीय सदस्य कृष्ण गिरीले नेपाल पत्रकार महासङ्घमा १३ हजार सदस्य रहेकोमा १५ प्रतिशत अर्थात् दुई हजार जना मात्र महिला रहेको भन्दै समाचार दाताभन्दा माथिल्लो जिम्मेवारी पाउन निकै कमले सकेको बताए ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले महिलाहरुलाई पत्रकारिता क्षेत्रमा टिक्न कठिन भएको बताए । महासङ्घका उपाध्यक्ष शान्ता अधिकारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष तीर्थ नेपाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र सञ्चारीका समूह चितवनकी अध्यक्ष अजिता अधिकारीले विवाहपछि पारिवारिक र आर्थिक कारणबाट महिलाहरुले सञ्चार माध्यम छोड्ने गरेको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्रियाशिल पत्रकार महिला चितवनकी अध्यक्ष प्रमिता ढकालले जिल्लामा सञ्चार माध्यमलाई निरन्तरता दिने महिला पत्रकार कम भएको बताउँदै निर्णायक तहमा पुग्नेको सङ्ख्या निकै कम रहेको बताईन् । सञ्चार माध्यम धेरै भए पनि सहभागिता कमजोर र महिलालाई चुनौती बढी हुने गरेको ढकालले बताईन् । जिल्लामा २३८ जना सदस्य भएकोमा ५४ जना पत्रकार महिला रहेको उनले जानकारी दिईन् ।