साहित्य

न देश रोयो न म नै रोएँ

 -गुरुराज घिमिरे                                                                                                                                          -कविता

म मर्दा देश रुनु पर्छ
भन्थ्यो भाईले
थाहा छ, अरु केके भन्थ्यो !
भन्थ्यो, मैले भन्दा पहिले
अरुले खानु पर्छ
म भन्दा धेरै अरु बाँच्नु पर्छ
म भन्दा धेरै अरु नाँच्नु पर्छ
मनमा दुःख पर्नु हुन्न कसैलाई
रोगले छुनु हुन्न, शोकले पिर्नु हुन्न
पिडाले पछ्याउनु हुन्न
आँशु झर्नु हुन्न दुःखका,
कसैको आँखाबाट
सुखको अलकापुरी मिलोस सबैलाई
संकटको सागरमा मैं डुब्नु परोस बरु
कसैले ब्यथा झेल्नु नपरोस
कथाहाल्न नपरोस् दुःखका
शनि, राहु लागोस मलाई
बृहस्पती र बुधले पछ्याउन अरुलाई
दशा ग्रह बिग्रिउन मेरा
दिन नबिग्रिउन कसैका
मैं मरुँ मै परुँ
हर्षको फुलबारी फुलोस
सबैको मनको बगैंचामा सधैं
म घेरिउँ आपतले बरु
म डुबुँ शोकको गहिरो महासागरमा
कसैको घरमा बज्र नपरोस
दुस्ख नासिउन, पींडा भासिउन
भन्थ्यो भाईले
अफसोच!
आज त्यो भाई छैन!
आखिर उ नैं खरानी भएर मिसियो सागरमा
परन्तु म छु र संसार ज्युँका त्युँ छ !
उफ! न देश रोयो न म नै रोएँ !!