समाचार

मन्त्री बाँस्कोटाको दाबीः हामी नयाँ ढङ्गले मुलुकलाई समृद्ध बनाउँदैछौँ

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपाल नवनिर्माणको अवस्थामा रहेको सन्देश दिइने बताएका छन् । बनेपा नगरपालिकाको ३८औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा उनले भने, “हामी नयाँ ढङ्गले मुलुकलाई समृद्ध बनाउँदैछौँ, लगानी सम्मनेलनमा आउने पाहुनालाई सोही सन्देश दिनेछौँ ।”

मन्त्री बाँस्कोटाले करीब ३०० लगानीकर्ता आउने योजना भए पनि ७०० भन्दा बढी विदेशीले लगानी सम्मेलनमा सहभागिता जनाउनु नै सरकारका लागि उत्साहप्रद रहेको बताए । उनले नेपाल नवनिर्माणको अवस्थामा रहेको मुलुक भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको दाबी गरे । “विविधताले भरिएको हाम्रो मुलुकमा लगानीकर्ताको आकर्षण बढ्नु स्वाभाविक हो, त्यसैले सहभागिता बढ्दैछ, हामी प्रस्ताव गर्छौँ, उनीहरुले लगानी गर्न चाहेअनुसारको वातावरण सिर्जना गर्नेछौँ”, मन्त्री बाँस्कोटाले भने ।

वर्तमान सरकारको कार्यशैली र समृद्धि यात्राबारे विश्लेषण गरेरै लगानीकर्ता नेपालप्रति उत्साहित भएको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले लगानी सम्मेलनमा काभे्रपलाञ्चोकमा सुनकोशी–३ जलविद्युत् योजनालगायत पाँच योजना प्रस्ताव गरिने बताए । “जिल्लामा जलविद्युत्, अस्पताल तथा कृषिका क्षेत्रमा लगानी गर्न प्रस्ताव गर्दैछौँ”, उनले भने, “यी क्षेत्रमा उनीहरुले लगानी गर्ने अपेक्षा गरेका छौँ ।” उनले जिल्लामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण प्रेस स्थापनार्थ फ्रान्स सरकारसँग प्रारम्भिक सहमतिमा आफैँले हस्ताक्षर गरेको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा सरकारलाई कमजोर नठान्न आग्रह गरे । “नेपालले कुनै प्रकारका हिंसा सहँदैन”, उनले भने, “कुण्ठा पालेर केही युवालाई बिगार्ने काम नगर्नुहोला, कम्युनिष्टको पवित्र झण्डालाई सम्मान गर्नुस् ।” आतङ्कवादलाई पराजित गर्न सरकार सक्षम रहेको उनको दाबी थियो ।

सांसद नविना लामाले नवनिर्माणको अवसरलाई चुनौतीका साथ अगाडि बढाइने बताईन । उनले भनिन्, “हामी ऐसआराम गर्न सरकारमा गएका हैनौँ, जनताले काम गर्न पठाएका हुन्, हामीले निर्वाचनमा झुठो आश्वासन बाँडेका हैनौँ, सबै वाचा क्रमैसँग पूरा गर्छौं ।” प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले नगरपालिकाको समृद्धिको यात्रामा सहयोग गर्ने बताए । नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले नगरपालिकाले हालसम्म गरेका कामको जानकारी गराएका थिए । सो अवसरमा बनेपा नगरपालिकाका संस्थापक नगरप्रमुख डा सुरेन्द्र वादे श्रेष्ठ, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, नगरका ज्येष्ठ नागरिक, नगरका उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट विद्यार्थीलाई स्म्मान गरिएको थियो ।