समाचार

प्रतिबन्धपछि स्थानीय तहमा थप समस्या भएका कारण ‘विप्लव’संग वार्ता गर्नुपर्छः योगेश भट्टराई

तालेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि सो पार्टीसँग छलफल र सम्वाद भइरहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबार आयोजित सर्वपक्षिय बैठकमा उनले विभिन्न सुत्रका माध्यमबाट सो पार्टीसँग समस्या समाधानका विषयमा छलफल र सम्वाद भइरहेको बताए । सरकारले वार्ता, सम्वाद र छलफलका लागि ढोका खुला राखेकाले उनले राजनीतिक तबरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको स्पष्ट पारे । संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेकाले उनले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे ।

प्रतिबन्ध लगाउनुअघि पनि विप्लव समूहसँग पटकपटक वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनु परेको नेता भट्टराईले बताए । छलफलमा जनप्रतिनिधिले प्रतिबन्धपछि स्थानीय तहमा विभिन्न चुनौती थपिएकाले चाँडै राजनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।