राजनीति

काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः काँग्रेसको नचाहिने कुरा काट्नुभन्दा जनताको काममा ध्यान दिनुस्

काठमाण्डौ । नेपाली काँग्रेसले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका क्रममा नेपाली कांग्रेसका प्रति गरेको टिप्पणीलाई प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद र हलुका अभिव्यक्तिका रुपमा लिएको बताएको छ। आज एक कार्यक्रममा काँग्रेसको सतिहमा नै गएर प्रधानमन्त्री ओलीले आलोचना गरेपछि काँग्रेस प्रधानमन्त्रीसंग थप चिढएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्ती जारी गरी ४ बुंदे असहमती यसरी काँग्रेसले प्रकट गरेको जनाएका छन् ।

१. एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलाको बयान’ भन्दा भिन्न छैन ।

२. विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न । वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं । विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरुको आतङ्कले मुलुकलाई समाधान दिंदैन ।

३. बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई हाम्रो स्वागत छ र रहनेछ तर सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक छ । तिक्त भाषणहरुमा समय खेर फाल्नु भन्दा परिपक्व छलफलमा समय लगाउनु पर्ने प्रधानमन्त्रीको कर्तव्य स्मरण गराउन चाहन्छौँ ।

४. नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त छ । कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु ।