अन्तर्राष्ट्रिय

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन– पाकिस्तान

इस्लामाबाद । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै सम्बन्ध नपाइएको जनाएको छ ।

“हामीले ५४ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान ग¥यौं तर पुलवामा घटनामा ती कसैको संलग्नता पाइएन,” विदेश मन्त्रालयले जनाएको छ । “यसैगरी, भारतले दिएका २२ वटा ठाउँको पनि अनुसन्धान गरियो, तर त्यस्तो केन्द्र कतै पाइएन ।” पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा भारतले शंका गरेका ठाउँहरुमा भ्रमणको अनुमति दिन पाकिस्तान सकारात्मक रहेको जनाइएको छ ।

पुलवामा घटनापछि भारत र पाकिस्तानबीच तनाबको स्थिति उत्पन्न भएको थियो । पुलवामा घटनामा भारतीय सशस्त्र फौजका ४० जवानको मृत्यु भएको थियो । पाकिस्तानमा आश्रय लिइरहेको जैस–ए–मोहम्मदले उक्त घटनाको जिम्मेवारी लिएको थियो । पाकिस्तानले भने भारत नियन्त्रित काश्मिरको पुलवामा भएको घटनामा आफ्नो संलग्नता नरहेको पटकपटक दोहो¥याएको छ । यसै महिनाको शुरुमा इस्लामाबादले अन्तर्राष्ट्रिय दबाबपछि सम्भावित लडाकू समूहहरुको खोजीका लागि देशव्यापी कारबाही गरेको थियो । यसक्रममा पाकिस्तानले केही व्यक्तिलाई पक्राउ गर्नुका साथै मस्जिदहरु र क्लिनिकहरु बन्द गरेको थियो ।