आर्थिक

माथिल्लो त्रिशुली थ्री बीको शेयर बाँडफाँट, प्रधानमन्त्रीलाई २० कित्ता

काठमाडौँ । मुलुकको कार्यकारी प्रमुख नै पहिलो पटक धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गरेका छन् । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको शेयर खरीद गरी प्रधानमन्त्री केपी शर्मा ओली शेयर बजारमा शेयरधनीको रुपमा प्रवेश गर्नुभएको हो । आज भएको बाँडफाटमा प्रधानमन्त्रीलाई २० कित्ता शेयर परेको छ ।

प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन गर्नुभएको थियो । प्रधानमन्त्रीले आवेदन गरे लगत्तै शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारणलाई शेयर बिक्री गरेको थियो । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत २० कित्ता शेयर परेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतलाई समान २० कित्ता शेयर परेको छ । उक्त कार्यक्रमको पहिलो शेयरमा नै जनताको उल्लेख्य सहभागिता देखिएको छ ।

मुलुकको शेयर बजारमा धेरै भन्दा धेरै नागरिकलाई सहभागी गराउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रम शुरु गरिएको हो । कार्यकारी प्रमुख, मन्त्री तथा उच्च पदस्थ सरकारी कर्मचारी नै शेयर बजारमा शेयरधनीका रुपमा प्रवेश गरेपछि त्यसले सकारात्मक प्रभाव मात्रै पार्ने छैन, लगानीका लागिसमेत अभिप्रेरित गर्नेछ । नेपालमा १५ लाखको हाराहारीमा शेयर लगानीकर्ता रहेका छन् । नेपाल क्लियरिङ हाउसका अनुसार हालसम्म १४ लाख ७१ हजार ६४४ वटा हितग्राही खाता खोलिएका छन् । प्रधानमन्त्री र मन्त्री पुनले ग्लोबल आइएमई क्यापिटलमा शेयर खरीदका लागि नै हितग्राही खाता खोलेका थिए ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा जलविद्युत् क्षेत्रलाई राखेको सन्दर्भमा आम नागरिकलाई शेयरधनी बनाउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रम अगाडि सारिएको हो । स्वदेशी लगानीमा नै ठूला तथा मझौला जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने लक्ष्यका साथ सरकारले ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत् को शेयरधनी’ अभियान सञ्चालन गरेको छ । सो अभियानको पहिलो कार्यक्रमको रुपमा त्रिशुली जलविद्युत् कम्पनीले अग्रिम रुपमा साधारण शेयर बिक्री गरेको थियो । यही चैत ७ गतेदेखि ११ गतेसम्म सो कम्पनीको शेयर बिक्री गरिएको थियो । कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशतले हुन आउने रु ३७ करोड पाँच लाख बराबरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गरिएको थियो ।

कूल निष्काशनको तीन प्रतिशत शेयर कम्पनीका कर्मचारीका लागि संरक्षण गरिएको छ । अग्रिम शेयर भएकाले शुरुमा आवेदनका साथ प्रति शेयर रु दशका दरले मात्रै उपलब्ध गराए हुने व्यवस्था गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । अग्रिम रुपमा रु तीन करोड ७० लाख ५० हजार मात्र भुक्तानी अग्रिम माग गरिएको हो । उक्त शेयर वापत चुक्ता हुन बाँकी रहने रकम नियमानुसार कम्पनीले पछि माग गर्ने गरी व्यवस्था मिलाइएको छ । माथिल्लो त्रिशुली थ्री बी आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि थप ९० प्रतिशत रकम उपलब्ध गराउनुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डले गत फागुन ३० गते शेयर बिक्रीका लागि स्वीकृति दिइएको थियो । कूल एक लाख ५६ हजार ७११ जनाले शेयर आवेदन गरेका एक लाख ५४ हजार ५५९ आवेदन मात्रै सही ठहरिएको थियो । दोहोरो आवेदन तथा अन्य केही प्राविधिक समस्याका कारण ६७ आवेदन भनेपछि खारेज भएको थियो । सो कम्पनीको शेयरमा रु ६६ करोड ९० लाख ९९ हजार २०० बराबरको आवेदन परेको थियो । कूल एक लाख ५६ हजार ७११ आवेदकले छ करोड ६९ लाख नौ हजार ९२० कित्ता आवेदन गरेका थिए । त्यसमध्ये केही आवेदन प्रक्रिया नमिलेका कारण रद्द भएको थियो ।

कूल रकमका आधारमा करीब दुई गुणा बढी र शेयर सङ्ख्याका आधारमा भने करीब १८ गुणा आवेदन परेको थियो । आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रु १०० अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । अग्रिम रूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।

मन्त्रालयले १९ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशुली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशुली थ्री बी आयोजना छनोट गरिएको हो । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत शुरु भइसकेको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ । शेयर बाँडफाँड समारोहमा मन्त्री पुनले प्रधानमन्त्री, मन्त्री, सरकारी अधिकारी र आम लगानीकर्ताको समेत लगानी परेका कारण आयोजनाको काम निर्धारित समय अगावै सकिनुपर्ने बताए । “आयोजनामा सबैको चासो बढेको छ । शेयर लगानीकर्ताले समेत असाध्यै उत्साहका साथ सहभागिता जनाए”, मन्त्री पुनले भने, “आयोजना एक दिन पनि ढिलो छन् । तोकिएको समय भन्दा अगावै कसरी सम्पन्न गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” मन्त्री पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिरकण, निर्माणकर्ता कम्पनी, निर्माण व्यवसायी तथा स्थानीयवासीले समेत आयोजनालाई भरमग्दूर सहयोग गर्ने विश्वास व्यक्त गरे ।