राजनीति

मानवअधिकार संरक्षणका विषयमा सदैव सकारात्मक छुः सभामुख महरा

बुटवल । सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उनकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न गरेको आग्रहप्रति सभामुख महराले समाजले अघि सारेका विषयप्रति आफू सकारात्मक भएको बताए ।

सभामुख महराले यस्ता विषयमा आफूले पनि सरकारको ध्यानाकर्षण गराउने र संसद्मा यो विषयले प्रवेश पाएमा आफूले रोम विधान अनुमोदनका लागि पहल गर्ने बताएको भेटपछि समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस अवसरमा सभामुख महराले मानवअधिकार संरक्षणका विषयमा आवश्यक कानून निर्माणलगायत दण्डहीनताका विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन पनि शान्ति समाजलाई आग्रह गरेका छन् ।

भेटमा समाजका तर्फबाट दण्डहीनताको अन्त्यका लागि ठोस कदम चाल्न आग्रह गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने र त्यसका लागि विशेष पहल गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिमण्डलमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, वरिष्ठ उपसभापति गोविन्द खनाललगायत अधिकारकर्मीहरु थिए । शान्ति समाजले प्रत्येक वर्ष चैत १७ को सेरोफेरोमा सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको छ ।