शिक्षा

आधा शताब्दीभन्दा बढी सेवा गरेका आठ विद्वान् सम्मानित

काठमाडौँ । गणित विज्ञान विषयको विकास र विस्तारमा आधा शताब्दीभन्दा बढी सेवा गरेका आठ विद्वान् सम्मानित भएका छन् । गणित विज्ञान ट्रष्टद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रा. डा. योगरत्न स्थापित, भद्रमान तुलाधर, होमनाथ भट्टराई, केदारज्वालानन्द राजोपाध्याय, उदयलाल श्रेष्ठ, द्वारिकानाथ गजुरेल, लवचन्द्र श्रेष्ठ र भाइराजा रञ्जित सम्मानित भएका हुन् ।

सम्मानित व्यक्तित्व ७५ वर्षभन्दा माथिका छन् । ट्रष्टले हरेक वर्ष गणित विज्ञान विषयको विकास र विस्तारमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसैगरी ट्रष्टले विसं २०७५ को गणित विज्ञान प्रतिभा पुरस्कार प्रा हरिनारायण उपाध्याय, प्रा डा बालचन्द्र लुइँटेल र डा सरस्वती आचार्यलाई अर्पण गरेको छ । सो पुरस्कार नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पण गरे । ट्रष्टका अध्यक्ष राममान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यक्रम आयोजक समितिका संयोजक प्रा डा सिद्धिप्रसाद कोइरालाले सरकारसँग गणित विज्ञान विषयको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे ।