प्रदेश 1

प्रदेश पर्यटन विधेयकमा छलफल जारी

विराटनगर । ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि आज पनि सैद्धान्तिक छलफल जारी छ । सो विधेयकमा प्रदेशसभा सदस्य जयराम यादव, झलकसिंह दर्लामी, बलबहादुर साम्सुहाङ, शान्ता पौडेल, शिवनारायण गनगाईं र शेखरचन्द्र थापाले आर्थिक स्रोतको प्रमुख आधार बनाउन सकिने पर्यटन क्षेत्रलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने विधेयकलाई सङ्कुचित बनाउन नहुनेमा जोड दिए ।

उहाँहरुले प्रदेश पर्यटन विकास बोर्ड स्थापना र पर्यटन क्षेत्रको पहिचान गरी निजी तथा सरकारी साझेदारीको अवधारणाबाट अघि बढ्न विधेयकलाई सहयोगी भूमिका निर्वाह गर्न सक्ने खालको बनाउनुपर्नेमा जोड दिँदै यहाँका धार्मिक स्थल, प्राकृतिक एवं एतिहासिक धरोहरको प्रचार गरी पर्यटन भित्र्याउन सक्ने खालको विधेयक बन्नुपर्छ भने ।

एकसय पच्चिस जातजाति रहेको नेपालमा सबै जातजातिका धर्म र सँस्कृतिको झलक देखाउन सकिने भएकाले जातीय एवं साँस्कृतिक ग्राम बनाउनका लागि पनि विधेयकमा ती कुरा समेटिनु पर्नेमा सदस्यहरुले सुझाव दिएका छन् ।