कर्णाली प्रदेश

मुख्यमन्त्री शाहीद्वारा राष्ट्रिय नदी शिखर सम्मेलनको उद्घाटन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एतिहासिक कर्णाली नदीलाई महत्व दिएर यसै प्रदेशमा आयोजित ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन २०१९’ ले यो प्रदेशको साथै सिङ्गो नेपालको विकास र पर्यावरण संरक्षणमा सघाउ पुग्ने बताएका छन्।  आज यहाँ उक्त सम्मेलन उद्घाटन गर्दै उनले भने, “नदीको बहुउपयोगका लागि सबैले ध्यान दिनुपर्दछ, यसमा प्रादेशिक सरकारले पनि योजना निर्माणपनि गर्दैछ ।”

विकासका लागि अध्ययन मात्र नभई सूक्ष्म अनुसन्धान गर्न र त्यसबाट साझा निष्कर्ष निकालेर विकासका नमूना निर्माण गर्न सकिने विचार मुख्यमन्त्री शाहीले व्यक्त गरे। पूर्वजलस्रोत तथा सिँचाइमन्त्री दीपक ज्ञावलीले विकासका नाममा विकास विरोधी कार्यले नदीनालाका मूल सुकेको बताए । उक्त प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश समृद्धिको प्रमुख आधार कर्णाली नदी भए पनि यसलाई उपयोगमा ल्याउन नसकेका कारण यहाँका नागरिक गरीब हुनु परेको बताए ।

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले कर्णाली नदी संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले बढी ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “कैलाशदेखि गङ्गासम्म पुगेको यो नदी संरक्षणमा सबैको सकरात्मक सोच आउन जरुरी छ । ” कर्णाली प्रदेशलाई ‘जैविक विविधताको पुस्तकालय’ नाम दिएका उनले आजै दैलेखको आठबिस नगरपालिकाको राकममा पुगेर नदी संवादका साथै घोषणापत्र पनि जारी गर्ने बताए ।

नेपाल नदी संरक्षण संस्थालगायत विभिन्न साझेदार तथा सहयोगी निकायको आयोजनामा यही चैत १४–१७ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाका साथै स्वदेशी र विदेशी वैज्ञानिक तथा वातावरणविद्को सहभागिता छ ।