अन्तर्राष्ट्रिय

चिनियाँहरू पढाइका लागि समुद्रपार जाने क्रम बढ्दो

बेइजिङ, चीन । चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रममा हरेक बर्ष वृद्धि हुँदै आएको देखिएको छ ।

चीनको शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक एक तथ्याङ्कमा सन् २०१८ मा अध्ययनका लागि विदेश गएका विद्यार्थीको सङ्ख्या छ लाख ६२ हजार १०० पुगेको जनाएको छ । यो सङ्ख्या अघिल्लो बर्षभन्दा ५३ हजार ७०० बढी हो ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूमा ६५ हजार ८०० लाई सरकारद्वारा सहयोग भएको र पाँच लाख ९६ हजार ३०० विद्यार्थीले आफै लगानी गरी विदेशमा पढ्न गएका मन्त्रालयले जनाएको छ । त्यसैगरी सन् २०१८ मा पाँच लाख १९ हजार ४०० विद्यार्थीले विदेश गएर अध्ययन गरी फिर्ता भएका छन् जुन सङ्ख्या अघिल्लो बर्षभन्दा ३८ हजार ५०० ले बढी भएको मन्त्रालयले जानकारी गराएको छ ।

सन् १९७८ को अन्त्यपछि समुद्रपार गई अध्ययन गर्ने चिनियाँको सङ्ख्यामा वृद्धि भएको हो । चीनले खुला अर्थतन्त्रलाई अङ्गिकार गरेसँगै चिनियाँ विद्यार्थी विदेशमा गएर पढ्ने वैध बाटो खुलेको थियो । सन् १९७८ देखि सन् २०१८ को अन्त्यसम्ममा विदेशमा अध्ययनका लागि गएका विद्यार्थीको सङ्ख्या झण्डै ५० लाख ८६ हजार पुगेको छ । तीमध्ये अझै १५ लाख ३० हजार विद्यार्थीहरू अध्ययन तथा अनुसन्धानका शिलशिलामा विदेशी भूमिमा नै रहेका छन् ।

तीमध्ये ४० लाख ३२ हजारले आफ्नो अध्ययनलाई पूरा गरिसकेका छन् । तीमध्ये ३६ लाख ५० हजार विद्यार्थीले अध्ययनपश्चात रोजगारीका लागि स्वदेश रोजेका मन्त्रालयले जनाएको छ ।