अन्तर्राष्ट्रिय

राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा

अल्जियर्स । अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनु पर्ने मङ्गलबार बताएका छन्।

दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नु पर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ । जनरल अहमद गइद सलाहले एक टेलिभिजन सम्बोधनमा देशमा उत्पन्न सङ्कटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्ने बताएका छन् ।

सेना प्रमुखका अनुसार सन् २००४ मा नियुक्त हुनु भएका राष्ट्रपति बतेफ्लिका संबिधानको धारा १०२ मा रहेर गम्भीर र लामो समयको विरामीको कारण संसदमा मतदान गरेर अयोग्य घोषणा गर्न सकिने छ । तर धेरै विपक्षी दलहरूले सेना प्रमुखको उक्त अभिव्यक्तिको आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन चेतावनी दिएका छन् । सेना प्रमुखको पछिल्लो अभिव्यक्तिले भने धेरैलाई आश्चर्यचकित पारेको बताइएको छ ।

राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले करिब एक महिनाअघि पाँचौ कार्यकालको लागि चुनाव लड्ने बताएपछि अल्जेरियामा प्रदर्शनहरु जारी रहेको छ । पछि उनले आफ्नो मनशाय बदलेको बताए पनि प्रदर्शनका शृङ्खला रोकिएको थिएन । उनको राजिनामाको माग गर्दै प्रदर्शन जारी रह्यो ।

८२ वर्षीय नेता ह्विलचेयरको प्रयोग गरेर हिँड्डुल गर्नु पर्ने र उहाँ कमै मात्र सर्वसाधारणका बीचमा आउने गरको बताइएको छ । सन् २०१३ मा उनलाई हृदयघात पनि भएपछि उपचारका लागि फ्रान्स र स्विट्जरल्याण्ड पुगिसकेका छन्। गत मार्च ११ मा मात्र स्विट्जरल्याण्डमा उपचारपछि उनी घर फर्किएका थिए ।

उल्लेख्य मात्रामा अल्जेरियालीहरू रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएको थियो । तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नभएकाले धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन् । जारी प्रदर्शनका क्रममा ३० वर्षभन्दा कम उमेरका मानिसहरू आधाजसो रहेको बताइएको छ ।

कमजोर स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति सत्ता सम्हाल्न नसक्ने हालतमा पुगिसक्नु भएको आलोचकहरू पनि बताउँदै आएका छन् ।