अन्तर्राष्ट्रिय

पोम्पेओ र इजिप्टका विदेशमन्त्रीबीच द्वीपक्षीय भेटवार्ता

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

पोम्पेओ र सोउकीबीच दुई देशको आपसी हित र क्षेत्रीय सुरक्षा तथा स्थायित्वका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पल्लाडिनोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस छलफलको क्रममा पोम्पेओले इजिप्टलाई इजिप्ट–इजरायल शान्ति सम्झौताको ४० औँ वर्षगाँठको उपलक्षमा बधाई दिएका थिए ।

इजिप्ट र इजरायलबीच १९७९ मार्च २६ मा वासिङ्टन डिसीमा इजिप्टका राष्ट्रपति अन्बर सदात र इजरायली प्रधानमन्त्री मेनाचेम बिगिनबीच शान्ति सम्झौता भएको थियो । यस सम्झौतापछि इजिप्ट र इजरायलबीचको सम्बन्ध सामान्यीकरण हुनुका साथै १९६७ को तेस्रो मध्यपूर्व युद्धमा इजरायलले इजिप्टबाट कब्जामा लिएको सिनाई प्रायःद्वीपको विषय टुङ्गिएको थियो ।

सोही युद्धको क्रममा सिरियाबाट गोलान हाइटस्लाई पनि इजरायलले कब्जामा लिएर सन् १९८१ मा आफूमै गाभेको घोषणा गरेको थियो । तर यो कब्जालाई अन्तर्राष्ट्रिय समुदायले आजपर्यन्त स्वीकार गरेको छैन । गोलान हाइटस् इजरायलको हो भनी अमेरिकी प्रशासनले हालै दिएको मान्यतालाई सिरियाले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अधिकारमाथि अमेरिकाको ठाडो हस्तक्षेपको रुपमा लिएको सिरियाली समाचार समिति सानाले जनाएको छ ।