खेलकुद

मकवानपुर–११ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

हेटौँडा । घरेलु टोली मकवानपुर–११ हेटौँडामा जारी दोस्रो शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न सेमिफाइलनमा मकवानपुरले पुलिस क्लबलाई १–० गोलले हराएको हो । हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको सो खेलमा मकवानपुर–११ का लागि रेजिन सुब्बाले खेलको ७८औँ मिनेटमा गोल गरेका थिए ।

सुब्बाले ‘म्यान अफ दी म्याच’ भई रु १० हजार पुरस्कार प्राप्त गरे । मकवानपुर–११ ले फाइनल खेल थ्री स्टार क्लब र क्यामरुनी टोली दाफिन्सबीचको विजेतासँग खेल्नेछ ।

बिहीबार थ्री स्टार क्लब र दाफिन्स क्लबबीच अर्को सेमिफाइनल खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा दश टोलीको सहभागिता छ । प्रतियोगिताका विजेताले रु सात लाख र उपविजेताले रु चार लाख पुरस्कार प्राप्त गर्नेछ ।