राजनीति

हिमाल, पहाड र तराईको एकआपसको पारस्परिकताबाटै मुलुक समृद्धः वरिष्ठ नेता पौडेल

जनकपुरधाम । नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाल, पहाड र तराईको एकआपसको पारस्परिकताबाटै मुलुक समृद्ध हुन सकिने धारणा व्यक्त गरेका छन् ।

काङ्गे्रस धनुषा कार्यसमितिद्वारा शहीदनगर नगरपालिका वडा नं १ स्थित बालाबाखरमा आज आयोजित प्रजातान्त्रिक योद्धा रामसेवक यादवको शालिक अनावरण र आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले शासक वर्गमा अहिले पनि तराई–मधेशप्रति विभेद रहेको बताए ।

उनले तराईको अन्नले पहाड बाँच्ने भएकाले पहाडको बिजुलीको आम्दानी मधेशी जनताले उपभोग गर्न पाउनुपर्ने धारणा राखे । नेता पौडेलले वर्तमान सरकारले जनताको आवश्यकता, प्राथमिकता नुबुझी केन्द्रिकृत सत्ता सञ्चालन गर्ने नियत राखेको आरोप लगाए ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिष्ट र मधेशवादी दलले मधेशी जनतालाई भ्रममा पार्ने राजनीति गरिरहेको आरोप लगाए । केन्द्रीय सदस्य महेन्द्र यादव र रामकृष्ण यादवले कम्युनिष्ट र मधेशवादी दल ठग दल भएको प्रसङ्ग उल्लेख गरे ।